
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनीय बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको लक्ष्मी प्राविको अवस्था पनि डरलाग्दो छ ।
भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन् । २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि भौतिक अवस्था हेर्न लायकको छैन । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भए पनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरू बर्सेनि घटिरहेका छन् ।
विद्यार्थीहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयको गुनासो छ । अहिले विद्यालयको भौतिक पूर्वााधार संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरूले बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरू नै बताउँछन् । गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरू निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बैजनाथ ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावतले बताए । उनका अनुसार ५ वर्षमा विद्यालयमा १ लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरको लागि वडा कार्यालयले ५ वर्षमा मात्र १ लाख रुपैयाँ दिएको हो ।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रधानाध्यापक सुरेशकुमार थारुले बताए । उनका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ जना विद्यार्थी मात्र रहेको बताए । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति हुन नसकेको उनको भनाइ छ ।
उक्त विद्यालयका सबै भवनहरू भत्केर जीर्ण बनेका छन् । तर, मर्मत हुने छाँटकाँट देखिँदैन । आवश्यक सामग्रीहरू पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरू नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन् । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्यजस्तै रहेको स्थानीयको भनाइ छ ।