
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरू गरेको छ ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) नगरपालिकाले जिल्लास्थित विभिन्न संघसंस्थासँगको सहकार्यमा शनिवारदेखि औपचारिकरूपमा श्रमदान अभियान शुरू गरेको हो ।
श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए । ‘देश आर्थिक संकटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडक वर्षा शुरू हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।’
नगरपालिकाले शुरू गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रालि खोटाङ, ट्रयाक्टर तथा टिपर व्यवसायी संघ, टोल विकास समिति, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको छ । ट्रयाक्टर तथा टिपर व्यवसायी संघमा आबद्ध १ जना व्यवसायीले कम्तीमा ४० हजार रुपैयाँ बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।
श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करीब १२ किलोमिटर लामो सडक खण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो । श्रमदान अभियानमा नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो । पहिलो दिनको श्रमदानमा ४ वटा ट्रयाक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नम्बर २ सोल्माका वडाध्यक्ष राईले बताए ।
श्रमदान अभियानअन्तर्गत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुंगाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैंती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।
नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताए । ‘जिल्लामा १३० वटा ट्रयाक्टर सञ्चालनमा छन् । नगरभित्र मात्रै ८०–८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन् । नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा १ दिन श्रमदान गर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिका भित्रका सबै ग्रामीण सडकमा सहजरूपमा ट्रयाक्टर समेत सञ्चालन हुने अवस्था छैन । नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’
नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी समेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।
सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने संस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान शुरू गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । ‘हाम्रो समाजमा आफूले गरेको फोहोर समेत अरुले नै गरिदिनुपर्ने संस्कारको विकास हुँदै गएको छ । यो राम्रो होइन,’ उनले भने, ‘नगरपालिकाले शुरू गरेको श्रमदान अभियानले आफ्नो लागि आफैं गर्न सक्छौं भन्ने सन्देश दिएको छ । यो अभियान कसैका लागि लक्षित गरेर लागू गर्नुभएन । १ जना व्यक्तिको फाइदाका लागि गर्नुभएन । सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ ।’