०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन

संसदबाटै ओलीको आरोपः सुनिल शर्मा बनाइदिन्छु भनेर सांसदकै सातो लिन खोजियो

असोज १६, २०८०
काठमाडौं
संसदबाटै ओलीको आरोपः सुनिल शर्मा बनाइदिन्छु भनेर सांसदकै सातो लिन खोजियो

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्ने सांसदको सातो लिन खोजिएको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर ओलीले कांग्रेस सांसद डा. सुनिल शर्मा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई तर्साएर सांसदको सातो लिन खोजिएको ओलीले आरोप लगाए । 

‘क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने पक्राउ पर्दैनन्, मेडिकल कलेज सञ्चालन गरेको एक सांसदलाई पक्राउ गरिन्छ । केही बोलेको आरोपमा अमरेशकुमार सिंहलाई पुर्जी काटियो, सम्पत्ति छानबिन गर्ने भनेर,’ ओलीले भने, ‘२०४६ सालको सर्टिफिकेट छानबिन थुनेर गर्नुपर्छ ? सांसदको पनि सातो लिने, कोही बोल्यो कि खबरदार सुनिल शर्मा बनाइदिन्छु भनेर ? यो सांसदको सातो लिन खोजेको होइन ?’ 

ओलीले मुस्कान खातुनमाथि एसिड आक्रमण गर्नेलाई आममाफी दिइएको भन्दै आपत्ति जनाए ।

‘फागुन १ गतेको उत्सव भनेर छाड्यो कि संविधान दिवसको नाममा ? अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई  सरकारले छाडिसक्यो, एसिड आक्रमण पीडितहरू आतंकित बनेका छन्,’ ओलीले भने । 

ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताए । ‘निर्माण सम्पन्न आयोजनाको सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन्,’ ओलीले भने । 

कमेन्ट गर्नुहोस्