०६ साउन २०८३, बुधबार

मुगुमा एकै परिवारका ४ जना मृत भेटिए, हत्याको आशंका

कात्तिक १०, २०८०
मुगु
मुगुमा एकै परिवारका ४ जना मृत भेटिए, हत्याको आशंका
फाइल फोटो

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा एकै एकै परिवारका ४ जना मृत भेटिएका छन् ।

छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, ८ महिनाका छोरा रहर र ९ वर्षकी छोरी अप्सरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार उनीहरू शुक्रवार मृत भेटिएका हुन् ।

मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। 

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए । उनका अनुसार घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा पर्छ ।

हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको उनले जानकारी दिए । 

श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र कसले के उद्देश्यले हत्या गर्‍यो भन्ने खुल्न नसकेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।

यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ । 

प्रहरीका अनुसार कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको छिमेकीले देखेपछि १० गते बिहान ताला फोडेर भित्र हेर्दा चारै जनाको शव भेटिएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्