
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’को खुलामञ्चमा छायांकन गरिएको छ ।
खुलामञ्चमा एउटै स्थानमा फिल्मको छुट्टाछुट्टै दृश्यको छायाङ्कन गरिएको हो । निश्चित स्टुडियो नहुँदा खुलामञ्चलाई नै स्टुडियो मानेर विभिन्न दृश्यको छायाङ्कन गरिएको निर्देशक भट्टराईले बताए ।
फिल्ममा समावेश एक गीतको छायांकन त्यहाँ गरिएको छ । जसमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।
त्यस्तै क्लाइमेक्स दृश्यको छायाङ्कन पनि खुलामञ्चमा गरिएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो ..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।
एक सय बढी कोरसको प्रयोग गरिएको गीतमा फिल्मका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पनि देखिने निर्देशक भट्टराईले बताए । प्रचारप्रसारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको हो ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्री अब आफूहरूको तयारी प्रचारप्रसार र रिलिजमा हुने बताए । फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।
निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए ।
यो फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ ।
उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।