२६ जेठ २०८३, मंगलबार

विशाल बजारको सटर भाडामा यसरी भयो भ्रष्टाचार

कात्तिक २०, २०७४
विशाल बजारको सटर भाडामा यसरी भयो भ्रष्टाचार

काठमाडौं, १७ असोज– सर्वोच्च अदालतले न्युरोडस्थित विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर्‍याएको छ । विशाल बजार कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममा भ्रष्टाचार गरेको गत जेठमा भएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

मुद्दाको फैसलाका क्रममा सर्वोच्चले सरकारको लगानी रहेका कम्पनीहरूका पदाधिकारीहरू सार्वजनिक पदमा रहेका व्यक्ति मानिने नजिर प्रतिपादन गरेको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रकृतिका निकायमा हुने भ्रष्टाचारमाथि छानबिन गर्न पाउने मान्यता पनि सर्वोच्चले स्थापित गरिदिएको छ ।

२०६० सालमा रवीन्द्र श्रेष्ठले मासिक एक लाख रुपैयाँमा विशाल बजारसँग सम्झौता गरी सटर भाडामा लिए । उनले सोही सटरलाई मासिक ३ लाखका दरले नेपाल इन्भेस्टमेन्ट बैंकलाई भाडामा दिए । त्यो सम्झौता १० वर्षका लागि थियो भने भाडाबापतको आम्दानी देवेन्द्रलाल श्रेष्ठको नाममा जम्मा गरिदिन बैंकमा निवेदन दिएको भेटियो । अनुसन्धान हुँदा देवेन्द्र उनका सहोदर भाइ भएकोसमेत खुल्यो ।

विशाल बजारका अध्यक्षसमेत रहेका रवीन्द्र २०५४ देखि २०६० सालसम्म राष्ट्रिय सभा सदस्य थिए र उनले रमेशमान श्रेष्ठलाई स्वकीय सचिवमा नियुक्त गरेका थिए । तिनै रमेशमान पछि विशाल बजारको सटर भाडामा दिंदा सम्झौता गर्ने व्यापारीका रूपमा प्रस्तुत भएका थिए । अख्तियारले कम्पनीसँग सटर भाडामा लिई अरूलाई तेब्बरमा भाडामा दिई अनियमितता गरेको आरोपमा रमेशमानलाई पनि प्रतिवादी बनाएको थियो । पहिलो दिन कम्पनीसँग भाडामा लिई भोलिपल्ट नै इन्भेस्टमेन्ट बैंकलाई भाडामा दिंदा उनले मासिक २ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको खुलेको अख्तियारको आरोप छ ।

२०६० पुसदेखि २०६५ फागुनसम्म भाडाबापत मात्रै उनीहरूबाट करिब एक करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो । विशेष अदालतले भने अनियमितता नदेखिएको भन्दै तीनै जनालाई २०६७ वैशाख २४ गते सफाइ दियो ।

विशेष अदालतको फैसला चित्त नबुझाई अख्तियारले सर्वोच्चमा पुनरावेदन हाल्यो । न्यायाधीशद्वय देवेन्द्रगोपाल श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले भने सरकारी लगानी रहेको कम्पनीभित्रको अनियमितता र बेथितिलाई नजरअन्दाज गर्न नहुने भन्दै भ्रष्टाचार भएको ठहर्‍यायो । तीनवटा सरकारी संस्थानहरूको सेयर रहेको भन्दै सर्वोच्चले विशाल बजार कम्पनीलाई ‘सार्वजनिक संस्थान’ को परिभाषामा राख्नुपर्ने ठहर्‍यायो ।

२०२६ सालमा स्थापित विशाल बजार कम्पनीमा ५ करोडको जारी पुँजी छ । जसमा खाद्य संस्थानको करिब ७४ लाख रुपैयाँ, नेसनल ट्रेडिङको करिब ६९ लाख र कृषि सामग्री संस्थानको साढे २४ लाख रुपैयाँको सेयर थियो जसको कुल सेयर ३४ प्रतिशत हुन आउँथ्यो । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा व्यवस्था नभए पनि सञ्चालक समितिले अनियमित ढंगले सेयर सदस्यहरूलाई नै सटर भाडामा दिने रणनीति अपनाएको थियो ।

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामानको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिई भवन निर्माण गराएका थिए । सुरुमा तत्कालीन अञ्चलाधीशसमेत सञ्चालक हुने कम्पनीले सेयरधनीलाई मात्रै भवनको सटर भाडामा दिने व्यवस्था गरेको थियो । तर २०६४ सालपछिका सञ्चालकहरूले आफूखुसी नियमावली बनाई पसल भाडामा लिंदा सेयरसँग गाभ्नुपर्ने व्यवस्था गरेका थिए । सरकारी संस्थानहरूको एकतिहाइ सेयर भए पनि निजी सञ्चालकहरूको दबाब तथा प्रभावका कारण विशालबजारका अधिकांश सटरहरू सेयरधनीहरूले आफ्नो कब्जामा लिई व्यापारीहरूलाई महँगोमा बेच्ने गरेका थिए । ३ सय ४६ वटा पसल कबल रहेको विशाल बजारमा नेसनल ट्रेडिङ कम्पनीले एउटा सटरमात्रै पाएको छ । जबकि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सेयरधनीलाई प्राथमिकता दिने भन्ने विषयवस्तु उल्लेख छैन । अख्तियारले ती पसल बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी भाडामा दिनुपर्नेमा मिलेमतोमा बेच्ने र सेयरधनीले तेस्रो व्यापारीलाई महँगोमा भाडा दिने गरेको आरोप लगाएको थियो ।

सर्वोच्चले फैसलाका क्रममा सञ्चालक समितिको निर्णयबाट ३ सय ४५ वटामध्ये अधिकांश सटर सेयरधनीलाई हचुवाको भरमा भाडामा दिइएको ठहर्‍यायो । ‘विशाल बजार कम्पनीमा सबैभन्दा ठूलो आर्थिक गोलमाल र अनियमितता रहेछ भन्ने देखिन्छ’ फैसलामा भनिएको छ, ‘कम्पनीभित्र कुशासनले घर जमाएको स्थितिमा अदालत मूकदर्शक भएर बस्न मिल्दैन ।’ सर्वोच्चले सञ्चालक समितिका सदस्यहरूले सेयर खरिद गरेपछि पनि सटर आफूले भाडामा लिनु र अरूलाई महँगोमा दिनुलाई ‘त्रुटिपूर्ण कार्य’ भनेको छ ।

सटर भाडा अनियमितता प्रकरणमा सर्वोच्चले तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठलाई दोषी ठहर्‍याउँदै उनी आफ्नो उत्तरदायित्वबाट भाग्न नमिल्ने राय दिएको छ । उनीमाथिको आयमा भनिएको छ, ‘कम्पनीले सहज रूपमा पाउने मुनाफा आफ्ना मानिस प्रयोग गरी आफूले लिए खाएको पाइयो ।’

रवीन्द्रलालबाट एक करोड २ लाख जरिवाना भराउने र एक करोड २ लाख रुपैयाँ विशाल बजार कम्पनीले पाउने ठहर भएको छ । सटर भाडा अनियमिततामा जोडिएका रमेशमान श्रेष्ठलाई एक महिना कैदको फैसला भएको छ भने रवीन्द्रमानका भाइ देवेन्द्रलाल श्रेष्ठबाट ३६ लाख ७२ हजार विशाल बजार कम्पनीले पाउने ठहर भएको छ । विशाल बजारबाट उठ्ने अनियमित भाडा देवेन्द्रलालको खातामा जम्मा हुने गरेको थियो ।

महत्त्वपूर्ण नजिर

अख्तियारको हस्तक्षेपपछि पनि विशाल बजारको सटर भाडामा भएको अनियमितता सुध्रिन सकेन । एक दशकपछि २०७१ सालमा पनि सटर भाडामा अनियमितता भएको आरोपसहित अख्तियारले अर्को मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । यो मुद्दामा केही आरोपित भने पहिलेको सञ्चालक समितिका पदाधिकारीहरू पनि थिए । पछिल्लो मुद्दामा अख्तियारले २०६८ पुस १ पछिको भाडालाई मात्रै छानबिनको आधार बनाएको छ ।

३६ रुपैयाँमा प्रतिवर्गफिटका दरले सटर भाडामा लिएर कम्पनीका सञ्चालक आफैंले दोस्रो व्यक्तिलाई ५ सय प्रतिवर्गफिटभन्दा बढीका दरले भाडामा लगाएर कम्पनीलाई घाटा पारेको अख्तियारको दाबी थियो । साढे दुई वर्षको अवधिमा करिब १० करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २०७१ साल जेठमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा हालसम्म विचाराधीन छ ।

कम्पनीका सञ्चालकले सीमित व्यवसायीलाई लाभ हुनेगरी भाडामा दिने प्रावधानका विरुद्ध दायर मुद्दामा विशेष अदालतबाट प्रतिस्पर्धाबाट भाडामा लगाउन आदेश भएको थियो । तर त्यसको पालना हुन नसकी फेरि अनियमित ढंगले चलखेल गर्ने प्रचलन कायम रहेको छ । पसल भाडामा लिनका लागि अनिवार्य सेयर सदस्य हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेका सञ्चालकहरूले कम्पनी ऐनको प्रावधानविपरीत आफैंले सटर भाडामा लिएर १० गुणा बढीसम्म भाडामा लगाएका थिए । नियमावलीले भाडामा लिएर त्यसलाई फेरि भाडामा दिन नमिल्ने व्यवस्था गरेको छ ।

अख्तियारले सेयरसँग गाभिएका र नगाभिएका पसलको भाडादर निकै फरक रहेको जनाएको छ । सबै सेयरधनीलाई समान अवसर नदिई आफूहरूलाई मात्रै सटर छुट्याएका कम्पनीका सञ्चालकहरूले खाद्य संस्थान, नेसनल ट्रेडिङ र कृषि सामग्रीलाई कुनै भूमिका नै नदिएको भनी अख्तियारले आरोपपत्र दायर गरेको थियो । ८ सय ६९ सेयरधनीमध्ये करिब एकतिहाइले मात्रै सटर पाएका छन् । ३ सय ६० वटा पसलमध्ये २ सय ४७ वटामा सेयरधनीले फेरि महँगोमा भाडामा लगाएका छन् । यसअघि नै विशेष अदालत तथा अख्तियारले प्रतिस्पर्धाका आधारमा सटर भाडामा लगाउन दिएको निर्देशनसमेत उल्लंघन भएको छ । कान्तिपुरबाट

salt training

कमेन्ट गर्नुहोस्