
विश्वकप विजेता अर्जेन्टिनी राष्ट्रिय फूटबल टोलीले चीनमा अफ्रिकाका दुई टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ ।
आठौं पटक फिफा पुरुष वर्ष खेलाडी बनेका लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले नाइजेरिया र आइभरी कोस्टसँग एक–एक खेल खेल्ने निश्चित भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन् ।
यी दुई खेल आगामी मार्चमा हुने निश्चित भए पनि कुन दिन भन्ने तय भइसकेको छैन । मार्च २० र २४ तारिखमा हुने सम्भावना रहेको बताइएको छ ।
साविक विजेता अर्जेन्टिनाले जुनमा अमेरिकामा शुरू हुने कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीस्वरुप यी दुई खेल खेल्न लागेको हो ।
पछिल्लो खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको थियो । गत मंसिरमा फिफा विश्वकप २०२६ छनोटअन्तर्गत भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
यसअघि अर्जेन्टिनाले घरेलु टोली चीन र एक युरोपेली टोलीसँग खेल्ने सम्भावना रहेको बताइएको थियो । तर पछि दुई अफ्रिकी टोलीसँग खेल्ने निश्चित भएको हो ।
नाइजेरिया अर्जेन्टिनाका लागि फेवरेट प्रतिद्वन्द्वी हो । यी दुई टोलीबीच विश्वकपमा पाँच पटक भेट भएको छ । ती सबैमा अर्जेन्टिनाले बाजी मारेको छ । मैत्रीपूर्ण खेलमा भने नाइजेरियाले पनि हराएको इतिहास छ ।