
पाकिस्तानमा बिहीबार भएको चुनावको मतगणना भइरहेको छ । अन्तिम नतिजा सार्वजनिक भइनसके पनि प्रारम्भिक परिणाम आइरहेको छ । अलजजिराका अनुसार हालसम्म सबैभन्दा धेरै १९ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमा अधिकांश पीटीआई समर्थित छन् ।
यस्तै, पाकिस्तान मुस्लिम लिग–नवाजले १७ सिट र पाकिस्तान पिपुल्स पार्टीले १६ सिट जितेको छ । अन्य चार उम्मेदवार विजयी भएका छन् ।
पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको कुल २३३ सिटको नतिजा घोषणा गरेको छ । बिहीबार मतदान भएको १८ घण्टापछि यी निर्वाचनको नतिजा सार्वजनिक गरिएको हो।
निर्वाचन आयोगले राष्ट्रिय सभाका ४७ सिटको नतिजा सार्वजनिक गरेको छ । तहरीक-ए-इन्साफ वा पीटीआईले समर्थन गरेका १६ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। पाकिस्तान मुस्लिम लिग–नवाजले १७ सिट र पाकिस्तान पिपुल्स पार्टीले १२ सिट जितेको बीबीसीले जनाएको छ ।
हालसम्मको नतिजाका आधारमा सिन्धको ५३ सिटमा विजयी घोषित भएको छ । पीपीपीले ४५ सिट जितेको छ भने चार सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जीडीएले दुई सिट र जमियत–ए–इस्लामले एक सिट पाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तका ५० सिटमा नतिजा घोषणा भइसकेको छ भने ४५ सिटमा पीटीआईले समर्थन गरेका उम्मेदवार विजयी भएका छन् ।
पञ्जाब प्रान्तीय निर्वाचनमा ७७ सिटको नतिजा घोषणा भइसकेको छ र तीमध्ये पीएमएलएनले ३९ सिटमा जित हासिल गरेको छ भने पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले ३३ सिटमा जित हासिल गरेका छन् ।
बलुचिस्तानको ६ सिटको नतिजा आएको छ । एक सिटमा पीएमएलएन र एक सिट बीएनपी अवामीले जितेका छन् । यहाँ जुलुसले तीन र पीपीपीले एक सिट जितेको छ ।