काठमाडौं २९ असोज– नेकपा एमाले र माओवादी केन्द्रसँगको वामपन्थी गठबन्धनमा सहमती जुट्न नसकेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएको छ ।
गोरखा क्षेत्रनम्बर २ बाट चुनाव लड्ने योजना बनाएका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई माओवादी केन्द्रले सो क्षेत्र नछाडेपछि नयाँ शक्तिले कांग्रेससँग चुनावी तालमेल गर्न लागेको हो ।
प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको माओवादी केन्द्रले बाबुरामका लागि गोरखा २ नछाड्ने अडान लिएपछि बाबुराम कांग्रेससँग तालमेलको तयारीमा लागेका हुन् ।
नेपाली कांग्रेसले गोरखा २ मा बाबुरामलाई सघाउने आश्वासन दिएको छ । नेता भट्टराईले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन् ।
नयाँ शक्तिले गोरखा १ मा कांग्रेसलाई समर्थन गर्ने छ । गत असोज १७ गते एमाले र माओवादीसँग मिलेर चुनावमा वामपन्थी तालमेलको घोषणा गरेको नयाँ शक्ति दुई हप्ता नहुँदै गठबन्धनबाट बाहिरिएको हो ।
वामपन्थी दलहरुबीच चुनावी तालमेलको घोषणा भएलगत्तै बाबुरामले कांग्रेसको विरुद्धमा कडा अभिव्यक्ती दिएका थिए । आइतवार नै कांग्रेससँग चुनावी तालमेलको घोषणा हुनसक्ने नयाँ शक्ति स्रोतले बतायो ।
राप्रपा, राजपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग चुनावी तालमेलको तयारी गरेको कांग्रेसले नयाँ शक्तिसंग पनि केही क्षेत्रमा चुनावी तालमेलको तयारी गरेको छ ।