०५ साउन २०८३, मंगलबार
फ्रान्समा राजनीतिक उथलपुथल

फ्रान्सेली चुनाव: दक्षिणपन्थी शक्तिको उदय, राष्ट्रपति म्याक्रोन युगको 'अन्त्य'

असार १७, २०८१
काठमाडौं
फ्रान्सेली चुनाव: दक्षिणपन्थी शक्तिको उदय, राष्ट्रपति म्याक्रोन युगको 'अन्त्य'

युरोपेली देश फ्रान्समा आइतवार सम्पन्न पहिलो चरणको निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा उथलपुथल ल्याएको छ ।  

उग्र दक्षिणपन्थी मानिएको राष्ट्रवादी दल नेशनल र्याली (आरएन)ले अग्रता हासिल गरेको छ भने राष्ट्रपति इम्यानुअल म्याक्रोनको पार्टी प्रतिस्पर्धामा तेस्रो नम्बरमा देखिएको छ ।

नेशनल र्यालीले ३३ दशमलव १५ प्रतिशत मतसहित पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नयाँ लोकप्रिय मोर्चा(एनएफपी)ले २८ दशमलव १४ प्रतिशत मत प्राप्त गरेको छ भने राष्ट्रपति म्याक्रोनको दलले नेतृत्व गरेको गठबन्धन 'एन्सेम्बल'ले कूल खसेको मतको जम्मा २१ प्रतिशत मत प्राप्त गरेको छ ।  

परम्परागत दक्षिणपन्थी पार्टी 'द रिपब्लिकन्स' र अन्य साना दलहरू १० दशमलव २२ प्रतिशतका साथ चौथो स्थानमा छन् ।

अहिले भएको निर्वाचन राष्ट्रपति म्याक्रोनले संसद भंग गरेपछि भएको मध्यावधि निर्वाचन हो । यसअघि यूरोपेली संसदको चुनावमा म्याक्रोनको पार्टीले नराम्रो हार व्यहोरेपछि उनले संसद भंग गर्ने निर्णय लिएका थिए ।

यस निर्वाचनले फ्रान्सको राष्ट्रिय विधानसभामा ५ सय ७७ सदस्यहरू चयन गर्नेछ । पहिलो चरणको मतदानमा जम्मा ७६ उम्मेदवारहरू चयन भएका छन् ।

फ्रान्समा नेपालमा जस्तो पहिलो हुने उम्मेदवार निर्वाचित हुने व्यवस्था छैन । बहुमत ल्याउने सदस्य मात्र विधानसभामा निर्वाचित हुन पाउँछन् । त्यसैले पहिलो चरणमा बहुमत ल्याउन नसक्ने उम्मेदवारले दोस्रो चरणमा पुनः भिड्नुपर्ने हुन्छ ।

फ्रान्सेली सञ्चारमाध्यमहरूले दोस्रो चरणमा ३ सय भन्दा बढी सिटहरूमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा ६६ दशमलव ७१ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यस चरणमा ७६ उम्मेदवारहरू प्रत्यक्ष रूपमा निर्वाचित भएका छन् ।

दोस्रो चरणको निर्वाचनका लागि ४ सय ४४ आरएन समर्थित उम्मेदवारहरू छनोट भएका छन् । त्यस्तै एनएफपी मोर्चाका ४ सय १४ उम्मेदवार दोस्रो चरणमा जान योग्य देखिएका छन् भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बलका ३ सय २१ उम्मेदवार छनोट भएका छन् ।

आरएनका नेता जोर्डन बारडेल्लाले यो निर्वाचन परिणामलाई म्याक्रोन युगको अन्त्य भनी प्रतिक्रिया दिएका छन् ।  

नयाँ लोकप्रिय मोर्चाका नेताहरूले यस परिणामलाई स्वागत गरेका छन् । आगामी दोस्रो चरणको निर्वाचनमा तीन प्रमुख राजनीतिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो परिणामले फ्रान्सको राजनीतिक भविष्यलाई निकै प्रभावित गर्नेछ फ्रान्सका राजनीतिक विश्लेषकहरूले जनाएका छन् । दोस्रो चरणको मतदान आगामी जुलाई ७ मा हुनेछ र त्यसपछि नयाँ सरकारको संरचना स्पष्ट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्