१५ असार २०८३, सोमबार
लम्बियो मनसुन

तीन दिन वर्षाको सम्भावना : प्राधिकरणले भन्यो- सानो वर्षामै ठूलो पहिरो जान सक्छ, उच्च सतर्कता अपनाउनू

असोज १६, २०८१
काठमाडौं
तीन दिन वर्षाको सम्भावना : प्राधिकरणले भन्यो- सानो वर्षामै ठूलो पहिरो जान सक्छ, उच्च सतर्कता अपनाउनू

नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर, मनसुन बाहिरिएको छैन ।

मनसुन बाहिरिने बेला आजदेखि पुन: देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तर, अविरल वर्षाको सम्भावना भने नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाले जनाएको छ । ​मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थान, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । 'कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ,' उनले भने, 'तर गत साताजस्तो लगातार झरी पर्दैन, कति सर्वसाधारणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।'

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।

पुन: वर्षा हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको हो । 

असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ। ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

यस्तो छ प्राधिकरणको सूचना

null

salt training

कमेन्ट गर्नुहोस्