११ साउन २०८३, सोमबार

उपनिर्वाचनका लागि कर्णालीमा ४२ हजारभन्दा मतदाता

कात्तिक २७, २०८१
काठमाडौं
उपनिर्वाचनका लागि कर्णालीमा ४२ हजारभन्दा मतदाता

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।  

निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिक विवरणअनुसार उपनिर्वाचन हुन लागेका कर्णालीका ६ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार दुई सय ७७ मतदाताले मतदान गर्ने छन् । 

कर्णालीमा एक नगरपालिका प्रमुख, एक गाउँपालिका अध्यक्ष, एक नगर उपप्रमुख, एक गाउँपालिकामा उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन हुँदैछ ।     

अद्यावधिक विवरणअनुसार अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको दैलेखको महाबु गाउँपालिकामा १२ हजार ६ सय १४ जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा नौवटा निर्वाचन केन्द्र रहेका छन् ।     

यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । त्यहाँ दुई हजार सात सय छ मतदाता रहेका निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी मनोज थापाले जानकारी दिए । 

यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपप्रमुख पदका लागि हुने उपनिर्वाचनमा १६ हजार चार सय ४९ जनाले मतदानमा भाग लिनेछन् । जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदाताले भाग लिनेछन् ।    

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ छ हजार आठ सय १० मतदाता रहेका छन् भने रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार चार सय ३४ जनाले भाग लिने मतदाता अद्यावधिक विवरणमा जनाइएको छ ।

यस्तै, कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदको लागिसमेत निर्वाचन हुँदैछ । त्यहाँ छ सय नौ मतदाता रहेको कालीकोट जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षको निर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिनेछन् ।    

salt training

कमेन्ट गर्नुहोस्