
बागलुङको काठेखोला गाउँपालिकाले यसवर्ष एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नागरिकलाई स्वास्थ्य बिमामार्फत उपचार पुर्याउने उद्देश्यले पलिकाका दलित, विपन्न, जनजाती, अपाङ्गता तथा एकल महिलाको निःशुल्क बिमा गरिएको हो ।
गाउँपालिकाले तीन वर्षदेखि दुई सयलाई स्वास्थ्य बिमा गराउँदै आएकामा यस वर्षदेखि आठ सय परिवार थप गरी पालिकाभित्रका सबै दलित, विपन्न, अपाङ्गता र एकल महिलालाई निःशुल्क बिमामा आबद्ध गराएको गाउँपालिका कार्यालयले जनाएको छ ।
तीन वर्षदेखि रु सात लाख बजेट छुट्याएर आठ वटा वडाका दुई सय परिवारको निःशुल्क बिमा गर्दै आएको पालिकाले यसवर्ष बजेट थप गरी रु ३७ लाख पुर्याएको छ । पालिकाका सबै दलित समुदायको स्वास्थ्य बिमा गर्न रु २० लाख, जनजाती, अपाङ्गता र एकल महिलाका लागि रु १० लाख बजेट विनियोजन भएको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिए ।