
ऊर्जामन्त्री दीपक खड्काले तोकिएको समयमा कार्यसम्पादन प्रतिवेदन पेश नगरेका कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिइएको बताएका छन् । कुलमान सरकारप्रति उत्तरदायी नबनेको उनले बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर मन्त्री खड्काले प्राधिकरणको कार्यकारी नियुक्त गर्दा नै कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गर्ने कि निष्काशन गर्ने भन्ने सर्त राखिएको बताएका हुन् । मन्त्री खड्काले कुलमानलाई नियुक्त गर्दा गरिएको पत्र पढेर सुनाए ।
‘कुलमानलाई नियुक्त गर्दा भदौ मसान्तभित्र नम्बर दिनुपर्ने व्यवस्था रहेछ । भदौमा उहाँले मूल्यांकनका लागि अनुरोध गर्नु भएन, असोजमा सरकारको तर्फबाट स्मरण गराइयो– कार्यसम्पादन मूल्यांकन गर्नुभएन’, मन्त्री खड्काले भने, ‘पुसमा आफैंले नम्बर दिएर ९८ दशमलव ९९ प्रतिशत आएको भनेर दिनुभयो । माननीय सदस्यहरू कति शिक्षक ब्याकग्राउण्डका हुनुहुन्छ । विद्यार्थी जाँचमा उपस्थित भएन भने कति नम्बर प्राप्त हुन्छ ?’
कुलमानलाई किन स्पष्टीकरण सोधियो भन्ने सांसदहरूलाई मन्त्री खड्काले प्रश्न गरे–‘उहाँ कानूनभन्दा माथि हुनुपर्यो, हो भने संविधानमा लेखिदिनु पर्यो ।’
सरकार मातहतको कर्मचारीले सरकारलाई टेर्दै नटेर्ने प्रवृत्ति कानूनी शासनमा सम्भव नभएको मन्त्री खड्काले बताए ।