०९ असार २०८३, मंगलबार

मुस्ताङमा लेक लागेर बिरामी परेका विदेशी पर्यटकको उद्धार

बैशाख ८, २०८२
मुस्ताङ
मुस्ताङमा लेक लागेर बिरामी परेका विदेशी पर्यटकको उद्धार

मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ । 

इटालियन ३१ वर्षीय पुरुष डियागो मारियो पिन्टो उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत् उद्धार गरेको हो ।

समुद्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत् उद्धार गरेर प्रदेश अस्पताल जोमसोम पुर्‍याइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए । 

गाउँपालिकाले अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत् प्रदेश अस्पताल जोमसोममा पुर्‍याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे ।

उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो ।

प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा. विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य छ । मुस्ताङको जोमसोम हुँदै अर्का दुईजना फ्रान्सेली नागरिक र तीनजना प्रथप्रर्दशक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो ।   

हिमाली जिल्ला मुस्ताङमा २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए । यस्तै, २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्