
विश्वकै सबैभन्दा प्रिमियम ब्रान्ड ‘योनेक्स’का नक्कली सामग्रीहरू नेपाली बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएको छ । जापानको प्रतिष्ठित ब्रान्ड योनेक्सका डुप्लिकेट सामग्रीहरू राजस्व छलेर बिक्री भइरहेको पाइएको छ ।
योनेक्सले र्याकेट, शस्ट्रिङ्ग, कर्क, ग्रीप, जुत्ता, क्याप, टि–सर्ट, ज्याकेट, झोलालगायतका सामग्रीहरू उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ ।
एसियाका लागि ब्याडमिन्टन खेल सामग्री उत्पादक योनेक्सको आधिकारिक बिक्रेता सनराइज प्रालि हो । सनराइज नै एसियाली मुलुकहरूमा योनेक्सको आधिकारिक डिस्ट्रिब्युटर हो । सनराइजबाटै नेपालमा पनि योनेक्सका प्रोडक्टहरू भित्रिने गरेका छन् ।
सनराइज सिंगापुरबाट योनेक्सका ओरिजिनल प्रोडक्टहरू नेपालमा आधिकारिक डिस्ट्रिब्युटरमार्फत बिक्री हुने गर्दछ । तर भारत, चीनलगायतका राष्ट्रहरूबाट अवैध रूपमा योनेक्सका प्रोडक्टहरू नेपाल ल्याएर बिक्री वितरण गरेको पाइएको छ ।
केही उदाहरण हेरौं
वास्तविक योनेक्सको जर्सीको हुबहु बजारमा पाइने गरेको छ । सामान्यरूपमा हेर्दा उस्तै प्रकारको देखिने भएकाले आम सर्वसाधारणले सजिलै छुटाउनै सक्दैनन् ।
नक्कली सामग्रीमा पनि योनेक्सको लोगो र ट्याग जस्ताको त्यस्तै प्रयोग गरेको पाइएको छ । तर ध्यान दिएर हेर्ने हो भने सिलाइमा केही भिन्नता देख्न सकिन्छ ।
यस्तै, योनेक्स्को र्याकेट पनि बजारमा खोज्दा जस्ताको त्यस्तै पाइने गरेको छ । कसैले पनि योनेक्सको र्याकेट डुप्लिकेट हो भनेर छुट्याउन सक्दैन । हेर्दा हुबहु कम्पनीकै नाम र ट्यागसमेत लगाइएको देखिन्छ ।

यी केही उदाहरण मात्रै हुन् । यसबाहेक सम्पूर्ण योनेक्समा प्रोडक्टहरूको अवैधरूपमा बिक्री वितरण हुने गरेको पाइएको छ ।
मूल्यमा पनि कहीँ वास्तविक मूल्य बराबर लिएको पाइन्छ भने कहीँ केही सस्तोमा पनि बिक्री भएको पाइएको छ ।
कसरी थाहा हुन्छ नक्कली र डुप्लिकेट ?
योनेक्सले आफ्ना हरेक प्रोडक्टहरूमा एउटा ‘होलोग्राम’ लगाउँछ । जुन हरेक प्रोडक्टहरूको कहीँ न कहीँ लगाएकै हुन्छ । जसले यो प्रोडक्ट वास्तविक युनेक्सकै हो भन्ने पुष्टि गर्दछ । यस होलोग्रामलाई अहिलेसम्म कसैले पनि कपी गर्न सकेको छैन ।
योनेक्सको होलोग्राम हो कि होइन भनेर छुटाउन कम्पनीले नै हरेक डिस्ट्रिब्युटर तथा डिलरहरूलाई एउटा authenticator card दिएको हुन्छ ।

उक्त कार्डबाट हेरेर ओरिजिनल र डुप्लीकेट मज्जाले छुट्याउन सकिन्छ ।
कार्डमा दुई वटा लेन्स राखिएको हुन्छ । एउटा भिजिबल र अर्को इनभिजिबल । योनेक्सका हरेक उत्पादनमा लगाइएको उक्त विशेष ट्यागलाई इनभिजिबलबाट हेर्दा केही पनि देखिँदैन भने भिजिबलबाट हेर्दा योनेक्स शब्द र लोगो देखिन्छ ।
तर, नक्कली अर्थात् डुप्लीकेटमा भने इनभिजिबल र भिजिबल दुवैमा देखिन्छ । होलोग्रामबाट छुटाउन सकिने भएकाले अहिले कतिपय डुप्लीकेटहरूमा उक्त ट्याग नै लगाइएको हुँदैन ।
सन् १९४६ मा स्थापित भएको योनेक्स ब्रान्डले सन् १९५७ मा ब्याडमिन्टन र्याकेटहरू बनाउन शुरू गरेको थियो । सन् १९६१ मा योनेक्सले आफ्नो पहिलो ब्रान्डेड र्याकेट लन्च गरेको हो ।
सन् १९६३ सम्ममा विश्वव्यापी रूपमा योनेक्स विस्तार भएको थियो । योनेक्सले ब्याडमिन्टनलगायत अहिले टेनिस, गल्फ, कार्बन ग्राफाइटजस्ता उत्पादनहरू गरिरहेको छ ।