१२ साउन २०८३, मंगलबार
आलेख

एउटा अलिखित सहमति

असार ३०, २०८२
काठमाडौं
एउटा अलिखित सहमति

सरकारहरू वर्षौंदेखि लिखित सहमति नामका स्वार्थपूर्ण लिखोटहरूको तालमा अभिनय गर्दै आएका छन् । हरेक सरकार परिवर्तनपछि एउटा लिखोट साक्षी राख्ने गरिन्छ । एउटा निश्चित अवधिपछि जब सरकार जनताको दैनिकी, देशका एजेन्डा, प्रतिपक्षको आलोचना र आफ्ना पूर्व प्रतिबद्धताबाट विमुख भएर भाग्छ, अनि त्यही लिखोट पसिना पुछ्ने क्रममा भिजेर सरकार ढल्नुभन्दा नै अघि निकम्मा बन्ने गर्छ ।

यतिबेला हाम्रो सामु रहेको वास्तविकता यही हो । तर, मुलुकलाई अनिर्णयको बन्दी बनाउने ती लिखोटहरू होइनन्, बल्कि देशलाई यतिबेला चरम निराशामा लैजाने एउटा जबर्जस्त सहमति छ, त्यो हो अलिखित सहमति ।

एउटा प्रश्न उठ्छ त्यो कस्तो र कसको सहमति हो ? जवाफ सपाट र आम मानिसहरूलाई थाहा छ, त्यो तीनओटा राष्ट्रिय पार्टीका प्रमुखहरूबीचको सहमति हो र आजीवन कुर्सी नछाड्ने सहमति हो ।

सत्ताको म्युजिकल चेयरमा आलोपालो गरिरहने र पार्टीको प्रमुखमा प्राण पखेरु रहुञ्जेल टाँसिइरहने भन्ने साझा धारणा नै उनीहरूबीचको अलिखित सहमति हो । सत्तालाई म्युजिकल चेयरका रूपमा आलोपालो होस्ट गर्ने, अन्तरपार्टीमा कार्यकारीको अवधि र उमेरबारे आउने प्रस्तावलाई रोस्ट गर्ने, परिवार, सम्पत्ति र क्रोनि क्यापिटलिज्मलाई बुस्ट गर्ने यो उनीहरूबीचको अर्को अलिखित सहमति हो ।

राष्ट्रिय बजेटलाई विकास निर्माणमा होइन, बफादार कार्यकर्ता माफिया र दलालहरूलाई वितरण गर्ने, देशको सामरिक शक्तिको विकास, कूटनीतिक शक्तिको विस्तार, राजनीतिक प्रणालीको स्थिरता, वैचारिक चिन्तन र विज्ञान प्रविधिका लागि सक्रियतामा कुनै रुझान प्रकट नगर्ने आपसी समझदारी पनि अर्को अलिखित सहमति हो ।

नीतिगत भ्रष्टाचारमा विरोध र सहमतिको विरोधाभासी नाटक मञ्चन, सदन र सरकारमा संख्या र मानसिक दुवै प्रकारले हमेशा अस्थिर, बाह्रैमास गठबन्धनको काँध फेरिरहने कुलतलाई अलिखित सहमतिको अर्को कडीका रूपमा हेर्न सकिन्छ ।

यही अलिखित सहमति स्वच्छ लोकतान्त्रिक अभ्यास, पारदर्शिता, सत्ताको सहज हस्तान्तरण र पुस्तान्तरण आदिका लागि बाधक हो । तर, जेन ७० अर्थात् ७० माथिको नेतृत्व पुस्ता यस कुराको महसुस त के, सुन्न समेत चाहँदैन ।

ओरालो लाग्दो लोकप्रियता, उकालोलाग्दो घृणा, भूगोलदेखि गूगलसम्म जनस्तरमा बढ्दो अविश्वास र आफ्नै पार्टीहरूभित्रदेखि परिवारभित्रसम्म डगमगाउन थालेको आत्मविश्वास, व्यवस्थामाथि प्रश्न उठ्न थाल्दा समेत उनीहरूलाई आफ्नो ओहोदाको सन्तुष्टि र काबुबाहिर जान थालेको सामाजिक असन्तुष्टिबारे कुनै प्रवाह छैन ।

०४६ देखि ०६३ को आन्दोलनको नेतृत्व गरेको त्यस पुस्ताले पार्टीभित्र होस् वा बाहिर नयाँबाट चुनौती हो भन्ने कुरा रत्तिभर विश्वास गर्दैन  । उसको त्रास कहीँ न कहीँ त्यही पुरानो राजसंस्था र थोत्रो नारायणहिटीतिरै देखिन्छ ।

उनीहरूको दिमागमा बागी भन्नबित्तिकै मोहन विक्रम, नारायणमान, मोहन वैद्यहरू आउँछन् र सहकार्य भन्नबित्तिकै बरु वामदेव, भीम रावल, सीपी मैनाली, महन्थ र राजेन्द्र आदि आउँछन् । एकताको कुरा पनि उनीहरूले त्यही सर्कल वरिपरि नै खोज्ने गर्छन् ।

तर, आजको पुस्ताका लागि धेरै पात्र र प्रवृत्तिहरू अप्रासंगिक भइसके । बेहुली डोलीमा, बेहुला बेहुली बग्गीमा वा दुलाहा राजा घोडामा सवार हुने समय गइसक्यो आधुनिक कारहरूले ती परम्परालाई ब्रेक गरिदिए  ।

एक महिनादेखिको तामझाम गरि जन्तीलाई आँगनमा खाना खुवाउने परम्परालाई शहरका पार्टी प्यालेस र गाउँका क्याटरिङहरूले विस्थापन गरिसके । तुलसी गिरीले छाडिसकेपछि कहिले आदित्यनाथ कहिले पशुपतिनाथ धाउँदा पनि चैनको श्वास फेर्न नसकेका महाराज, कहिले ह्विस्कीको चुस्कीमा डुबिरहने र कहिले चुरोटको धुवाँसँग उडिरहने युवराज, राजपाठका लागि नहोस् सपाट जिन्दगी, घरयासी शान्ति र मनको चैन खोज्दै कहिलेकाहीँ पूर्वपश्चिम दौडिरहने युवराज्ञी, दरबारका मिथक, पुर्खाको गर्वपूर्ण इतिहास, दुई अढाई सय वर्षदेखिको विरासतको कथा, वैभव र सम्भ्रान्त संस्कारको लालनपालनबाट सरल र सहज जीवनयापनका लागि गर्नुपरेको सामाजिक अन्तर्घुलनको नाती युवराजको संघर्षलाई शृंगारपटार गरेर पुरातनको पुनरुदयको परिकल्पना गर्ने वा त्रास देखाउने मनोविज्ञानले समाजको गतिलाई बुझ्न र बदल्न सक्दैन ।

समाज नितान्त नयाँ ठाउँमा छ । चुनौतीहरू पुरै नयाँ छन्, जो जेन ७० ले कहिल्यै सामना गर्नुपरेको थिएन । बागीहरू को हुन सक्छन् ? उनीहरूको प्रवृत्ति के हुनसक्छ ? समाजको कुन रुझानले बागी प्रवृत्तिलाई संस्थापनको मूल पंक्तिमा उभ्याउने जमर्को गर्न सक्छ ? सामाजिक अन्तर्विरोधका यी नयाँ पहेलीसँग जेन ७० पूर्ण रूपले अपरिचित छ ।

शेयर मार्केटमा आर्थिक वृद्धि वा ह्रासको कम्पास ढिलो घुमेको देखेर हाइपरफन्डमा लगानी गर्न इच्छुक पुस्ता जो डिजिटल करेन्सी बिट कोइन लगायतको व्यग्र प्रतीक्षामा छऽ त्यस पुस्ताको मानसिक र भौतिक चेतनाको नेतृत्व गर्न सहज छैन ।

एउटा प्रश्न अर्को उठ्न सक्छ यदि अमेरिका, चीन, रुस, इरान, भारत, पाकिस्तान जस्ता मुलुकमा जेन ७० प्रभावकारी छ भने नेपालमा मात्र उनीहरूमाथि प्रश्न कसरी उठाउन सकिन्छ ?

दैनिक हजारौं हजार नौजवान निर्यात गर्ने हामीसँग आफ्नै गतिलो एयरलाइन्स छैन । जानेहरूलाई सीप र दक्षताका लागि अन्तर्राष्ट्रिय मापदण्डको कुनै तालिम केन्द्र छैन । सूचना प्रविधिमा विकासको यही रफ्तार, क्वान्टम मेकानिक्समा भइरहेको अविश्वसनीय विकास, आर्टिफिसियल इन्टेलिजेन्सको यही अनुपातको तीव्रता अघि बढ्दै जाँदा हामी निकट भविष्यमै चिम्पान्जी वा मान्छेभित्र आजको राउटे समुदायको विकासक्रम जत्तिकै दयनीय अवस्थामा खुम्चिने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

उनीहरू आफ्ना राष्ट्रिय लक्ष्यहरू भेद्न, वर्तमानका हरेक प्रतियोगितामा आफूलाई अव्वल साबित गर्न र भविष्यका सुनौला योजनाहरूमा अहोरात्र योगदान गर्न सक्षम छन् । ती देशका राज्यसंयन्त्रहरू तिनको नियन्त्रण, निगरानी र हस्तक्षेपमा रहन्छन् । ती राज्यहरू माफियाको चक्र व्यूहमा पर्दैनन् ।

विज्ञान प्रविधि, नागरिकहरूको गुणस्तरीय जीवन, स्पेसको सम्भावना, सामाजिक सुरक्षाको सुनिश्चितता, वस्तुको उत्पादन र वितरणका लागि आपूर्ति श्रृंखलामा उनीहरू निकै चुस्त छन् । उनीहरू आफ्नो आस्था, आदर्श, राजनीतिक विचारधारा, दलीय विधान र मुलुकको संविधानप्रति प्रतिबद्ध छन् ।

उनीहरूका सपना विशाल छन्, आफ्नो मुलुकको प्रभुत्व विस्तार र नागरिकहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि अविरल खटेर काम गर्ने इच्छाशक्ति छ ।

देश र जनताको मनोविज्ञान र भावनालाई राष्ट्रिय आकारमा परिभाषित गर्ने र त्यसलाई व्यावहारिकता प्रदान गर्न ठोस योजना तय गर्ने उनीहरूसँग हाम्रो जेन ७० लाई दाँज्न सकिने कहीँ कतै आधार छैन ।

अमेरिकी राष्ट्रपतिको 'मेक अमेरिका ग्रेट अगेन'को नारा, चिनियाँ राष्ट्रपतिको महान् चीनको पुनरुदयको महत्वाकांक्षा, रूसी राष्ट्रपतिको सोभियत विरासत निर्माणको आकांक्षा, इरानी सर्वोच्च नेताको इरानी सभ्यता र पहिचानको संघर्ष, भारतको सनातन र अखण्ड भारतीय उपमहाद्वीपको सपना, पाकिस्तानको भारतीय प्रभुत्वलाई किनारा लगाउँदै आफ्नो अस्तित्व विकास र विस्तारको योजना यी सबै कुराले शक्ति संघर्षमा आफूलाई मैदानमा देखाउने ल्याकत राख्ने मुलुकको जेन ७० निकै दूरदर्शी र भविष्यमुखी छ भन्नेमा कुनै शङ्का छैन ।

यता हाम्रो हालत कति नाजुक छ भन्ने कुरा बोल्दा लाज पनि लजाउने अवस्था छ । हामीसँग त्यस्तो कुनै गार्मेन्ट छैन, जसले अन्तर्राष्ट्रिय फेसनमा दशकौं दशकमा पनि एउटा प्रभावशाली रेकर्ड तय गरोस् । हामीसँग त्यस्तो कुनै उद्योग छैन, जसले अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि नेपाली ब्राण्डको पहिचान बनाएको छ । हामीसँग त्यस्तो कुनै एग्रोफर्म छैन, जसले वैश्विक फूड चेनमा आफ्नो योगदानको रेकर्ड बनाओस् ।

माइनिङ, मेटल र रेयर अर्थमा हामी प्रवेश गरेकै छैनौं । हामीले निकै ठूलो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थाले नागरिकको अवस्थामा कुनै परिवर्तन ल्याउन सकेन । अहिलेको जम्माजम्मी उपलब्धि भनेको नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण हो ।

दैनिक हजारौं हजार नौजवान निर्यात गर्ने हामीसँग आफ्नै गतिलो एयरलाइन्स छैन । जानेहरूलाई सीप र दक्षताका लागि अन्तर्राष्ट्रिय मापदण्डको कुनै तालिम केन्द्र छैन । सूचना प्रविधिमा विकासको यही रफ्तार, क्वान्टम मेकानिक्समा भइरहेको अविश्वसनीय विकास, आर्टिफिसियल इन्टेलिजेन्सको यही अनुपातको तीव्रता अघि बढ्दै जाँदा हामी निकट भविष्यमै चिम्पान्जी वा मान्छेभित्र आजको राउटे समुदायको विकासक्रम जत्तिकै दयनीय अवस्थामा खुम्चिने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

यी सबै कुरालाई पूरै आँखा चिम्लेर पार्टी सत्ताको प्राधिकार मुट्ठीमा च्यापेर बस्ने र राजकीय सत्तामा आलोपालो गर्ने दलका प्रमुख नेताहरूलाई वस्तुगत अवस्था सम्झाउन सकिने देखिँदैन । मबिना संसार चल्दैन, मबिना देश चल्दैन र मबिना पार्टी चल्दैन भन्ने भ्रमबाट पार्टीका प्रमुख नेताहरू मुक्त नभएसम्म यो व्यवस्था कसरी लोकतान्त्रिक बन्न सक्छ ?

आजीवन सत्ताको शीर्ष स्थानमा रहिरहने मनोविज्ञानलाई लोकतन्त्रको महान् चरित्र हो भनेर व्याख्या गर्नुपर्ने दुःख हाम्रा अघि छन् । डिस्प्याच भएको हरेक अब्जेक्टिभ या त सेफल्यान्डिङ हुनुपर्छ, या त क्र्यास ल्यान्डिङ गराउनुपर्ने हुन्छ । त्यो दुवै नहुँदा दुर्घटना हुन्छ ।

नेपालका सबै राजनीतिक पार्टीका शीर्ष नेताहरूका लागि पहिलो सेफल्यान्डिङ नै उत्तम विकल्प हो । अब उहाँहरूले आजीवन पार्टी सत्ता मुट्ठीमा च्यापिरहने र राजकीय सत्तामा 'टर्न बाई टर्न' त्रिकोणात्मक साझेदारी गरिरहने पट्यारलाग्दो प्रथा र प्रचलनलाई ब्रेक गर्दै यिनीहरू राजा र राणाहरूभन्दा पनि सत्ता भोगको असीमित आकांक्षामा छन् भन्ने भाष्यलाई गलत साबित गर्नुपर्छ ।

यदि त्यसो होइन भने देश अलिखित र अव्यक्त समझदारीको बन्धक बन्न सक्दैन । ढिलोचाँडो सबै पार्टीमा अटोक्रेसी प्रवृत्तिको विस्मयकारी विष्फोट हुन्छ, त्यसले निम्त्याउने क्षति र जोखिमका डोबहरू लामो समयसम्म रहिरहन सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्