
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत् राजीनामा पत्र सार्वजनिक गर्दै उनले आगामी असोज ३० गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिएका हुन् ।
अहिले विदेशमै भएकाले उनले अनलाइनबाटै राजीनामा पठाएको उल्लेख गरेका छन् । उनी हाल अमेरिकामा छन् । कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए ।
उनले यस केन्द्रमा २५ वर्ष काम गरेका थिए । ‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुनेगरी मेरो राजीनामा स्वीकृतगरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।
उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन्, ‘र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासि सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी ! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम ।’
हृदय केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि 'शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र'का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त रहेको बताएका छन् ।
र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏 pic.twitter.com/k3B4FxFsMa
— रामेश (@RaameshKoirala) August 13, 2025