०६ साउन २०८३, बुधबार

सुनिल पौडेललाई एउटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश, अन्य मुद्दाका कारण जेलमै बस्नुपर्ने

भदौ ८, २०८२
काठमाडौं
सुनिल पौडेललाई एउटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश, अन्य मुद्दाका कारण जेलमै बस्नुपर्ने

गैरकानूनी लाभ लिई भ्रष्टाचार गरेको एक मुद्दामा विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले आइतबार उक्त आदेश गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार केन्द्रका लागि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानि पुर्‍याएको आरोपमा आइतबार थुनछेक प्रयोजनका लागि धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

२०८२ असार २७ गते नै अख्तियारले उक्त मुद्दा दायर गरे पनि अन्य विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा रहेका पौडेललाई बयानका लागि उपस्थित गराउन विशेष अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

सोहीबमोजिम तोकिएको दिन (आइतबार) कारागार प्रशासनले उनलाई विशेष अदालतमा उपस्थित गराएपछि बयान तथा सुनुवाइ भएको थियो । त्यसक्रममा १ लाख रूपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश भएको रेग्मीले लोकान्तरलाई बताए ।

‘उहाँ एउटा मुद्दामा मात्र धरौटी तारेखमा रिहा हुने आदेश भएको हो । यसअघि विभिन्न मुद्दामा उहाँलाई कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएकाले थुनामै रहनुपर्ने हुन्छ,’ रेग्मीले थपे ।
 

कमेन्ट गर्नुहोस्