
काठमाडौँ, २३ पुस– यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार यज्ञ ढकाल सम्मानित भएका छन् । नेपाल पत्रकार मञ्चले विगत २० बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार ढकाललाई शनिबार एक कार्यक्रमकाबीच नगद १५ हजारसहित सम्मान पत्र प्रदान गरेको हो ।
त्यसै गरि मञ्चले दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु प्रल्हाद रिजाल, मदनकुमार श्रेष्ठ, योगेन्द्रप्रताप शाही र रामकुमार अधिकारीलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरेको छ ।
कार्यक्रममा रक्षा मन्त्री भिमसेनदास प्रधानले अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको बताएका छन् । विभिन्न विचार, समूह र राजनीतिक सिद्धान्तमा रहेका दलहरुबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा अहिलेको संविधान जारी भएकाले पनि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नभएको प्रधानले बताएका छन् ।