०५ असार २०८३, शुक्रबार

पद्मावत खेल्ने क्रममा आमालाई फोन गरेर क्वाँ क्वाँ रोए रणवीर

पद्मावत खेल्ने क्रममा आमालाई फोन गरेर क्वाँ क्वाँ रोए रणवीर

काठमाडौं, २२ माघ — फिल्म पद्मावतमा रणवीर सिंहले निर्वाह गरेको खिलजीको भूमिका दर्शकहरूमाझ चर्चित रह्यो । वास्तविक जीवमा ऊर्जाशील तथा सरल र सहज व्यक्ति रणवीरले क्रूर तथा सनकी खिलजीको भूमिका गजबले निर्वाह गरेका हुन् । 

रणवीर भन्छन् :

फिल्ममा ढिलाइ हुँदा शूटिङका लागि जम्मा ४५ दिन थियो । ती ४५ दिनमा कुनै पनि ब्रेक पाइएन । साधारणतया सञ्जय सरको फिल्ममा प्रत्येक महत्त्वपूर्ण दृश्यपछि अभिनेतालाई कम्तीमा दुई दिनको ब्रेक प्राप्त हुन्छ । तर शूटिङमा डिले र समयको कमीका कारण प्रत्येक मिनेट मूल्यवान थियो । लगातार शूटिङ गर्नुप–यो । मलाई धेरै भार प–यो । 

मेरो शरीर पूरै थाकेको थियो । म अझै पनि शूटिङको ३७औं दिन सम्झिन्छु । मैले त्यो दिन आमालाई फोन गरें अनि फोनमै क्वाँ क्वाँ रोएँ । म अब यो काम गर्न सक्दिनँ भनें । सैंतीस दिनसम्म लगातार काम गर्दा साह्रै नराम्रो असर परिरहेको मलाई लाग्यो । मलाई शूटिङ गर्न मन चाहिँ थियो तर मेरो शरीरले साथ दिइरहेको थिएन । 

एक दिन त शूटिङकै क्रममा मलाई चोट लाग्यो । मेरो मुखबाट रगत निस्किरहेको थियो अनि म रुँदै सेटबाट बाहिर निस्किएँ । म पसिना पसिना भएको थिएँ । मेरा मेकअप म्यान दादाले मलाई सान्त्वना दिए, मेरा आँसु पुछे । पछि फिल्मका कलाकार र निर्माण सदस्यहरूलाई फिल्म देखाउँदा दादाले मलाई गम्लंग अँगालो हाले । फिल्म गर्दा अनेकौं कठिनाइ र रोकावट आए तर ती सबैले यसलाई सफल बनाएका हुन् । 

फिल्मको क्लाइमेक्स गाह्रो थियो । मुम्बईको तातो मध्याह्नमा मैले सबैतिर बलिरहेको टायरको बीचमा भारी छालाको कपडा लगाएर शूटिङ गर्नुपरेको थियो । म त पग्लिन्छु कि क्या हो जस्तो लागेको थियो । एउटा शट सकिँदा म गर्मीका कारण डङरङ्ङ लड्थें र बेहोश पनि हुन्थें । होशमा आउनेबित्तिकै म बान्ता गर्थें र मुख सफा गरेर अर्को शटका लागि तयार हुन्थें । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्