
काठमाडौं ३१ वैशाख– नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा राष्ट्रियता र स्वाभिमान विपरितका काम भएको आरोप लगाएका छन् । मोदीको भ्रमणले नेपालको संस्थालाई कमजोर पार्ने काम भएकोसमेत उनको आरोप छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद सिंहले मोदी भ्रमणमा परराष्ट्र मन्त्रालयलाई उपेक्षा गरिएको दाबी गरेका हुन् । प्रधानमन्त्रीले एक्ला एक्लै भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि नराखिनु आपत्तिको बिषय भएको उनले बताए ।
‘यो भिजिटले संस्थालाई कमजोर पार्ने काम गर्यो । अरुण तेस्रोको उद्घाटन गर्दा उर्जामन्त्रीको भूमिका देखिएन’ अमरेशले भने, ‘व्यक्ति प्रधान हुँदा फासीबाद हावी हुन्छ ।’
सांसद सिंहले पञ्चेश्वर आयोजना कार्यान्वयनमा सरकार मौन बसेको बताए । भारतको सत्ताधारी पार्टीको सांसदले जनकपुरलाई मिसाएर मिथिला बनाउन प्रस्ताव गर्दा सरकारले एक्सन लिन नसकेको भन्दै अमरेशले भने, ‘के यही राष्ट्रियता हो ? यो स्वाभिमान हो ?’
अमरेशले केपी ओलीले प्रधामनन्त्री बन्नु भन्दा पहिले थाइल्याण्डको राजधानी बैंककमा को सँग भेट गर्नु भएको थियो भन्ने कुरा संसदलाई बताउनु पर्ने बताए । ‘बैंककमा सुरक्षा निकायको कोहीसँग भेटनु भएको कि भारतीय नेताहरु सँग ?’ उनले प्रश्न गरे ।
भारत परस्तको आरोप लाग्ने अमरेशले मोदी भ्रमण पारदर्शी नभएको दावी गरे । ‘सरकार भनेको निरन्तरता हो, प्रधानमन्त्री ओलीले मोदीसँगको वान टू वान भेटमा भएका कुरा परराष्ट्र मन्त्रालयमा अभिलेख गराउनु पर्छ’ उनले भने ।
अमरेश बोल्दै गर्दा एमालेका सांसद बिरोध खतिवडाले राष्ट्रियताको बिषय संसदमा बहसको बिषय हुन नसक्ने भन्दै नियमापत्ति गरेका थिए ।