११ असार २०८३, बिहीबार

ट्रम्पले शिखर सम्मेलन स्थगित गरेपनि उत्तर कोरिया वार्ताका लागि तयार

ट्रम्पले शिखर सम्मेलन स्थगित गरेपनि उत्तर कोरिया वार्ताका लागि तयार

काठमाडौं, ११ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता अचानक स्थगित गरेपनि उत्तरले ‘कुनै पनि समयमा कुनै पनि रूपको’ वार्ता गर्न तयार रहेको बताएको छ । 

परराष्ट्र राज्यमन्त्री किम क्ये–ग्वानले ट्रम्पको निर्णय ‘अत्यन्तै खेदजनक’ रहेको बताए ।

उत्तर कोरियाले ‘खुला रूपमा शत्रुता’ देखाएकाले वार्ता रद्द गर्नुपरेको ट्रम्पले आरोप लगाए । 

यो पदासीन अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो शिखर सम्मेलन हुने थियो ।

सिंगापुरमा १२ जुनमा हुने भनिएको बैठकको विस्तृत विवरण प्रस्ट थिएन । तर वार्ता कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने र तनाव घटाउने उपायमा केन्द्रित रहने अपेक्षा थियो ।

ट्रम्पको घोषणाको केही घन्टाअघि उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थल नष्ट गर्ने प्रतिज्ञा पूरा गरेको बताएको थियो । 

ट्रम्पले किमलाई व्यक्तिगत रूपमा सम्बोधन गरेको पत्रमा वार्ता स्थगित भएको घोषणा गरेको थियो ।

अमेरिकाका एक वरिष्ठ अधिकारीले पछि यसको विस्तृत विवरण दिँदै उत्तर कोरियाले ‘सुविश्वासको अभाव’ देखाएको बताए । 

प्योङयाङबाट ‘भत्किएका प्रतिज्ञाहरू’ को शृंखला नै चलेको उक्त अधिकारीले पत्रकारहरूलाई बताए । ह्वाइट हाउसले शिखर सम्मेलनअघि सिंगापुरमा उत्तर कोरियाली कूटनीतिज्ञहरूसँग भेट्नका लागि डेपुटी चीफ अफ स्टाफलाई
पठाउँदा उनीहरूले प्रतिज्ञा भंग गरेको बताए ।

‘उत्तर कोरियालीहरू देखै परेनन् । उनीहरूले हामीलाई कुराइराखे ।’

दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग कुराकानी गरेपछि राष्ट्रपति ट्रम्पले किम जोङ–उनलाई लेखेको पत्रको प्रत्येक शब्द आफैंले लेखाएको ती अधिकारीले बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्