
सुर्खेत, २४ जेठ – सुर्खेतको चौकुने गाउँपालिकाले घाँस नर्सरी उत्पादन र बोका पशुपालन हुँदै समृद्धिमा पुग्ने गन्तव्य निर्धारण गरेको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले १० वटै वडामा नर्सरी तयार पारेर विरुवा वितरण गर्ने तयारी गरिरहेको छ । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले प्रत्येक वडामा नमूना घाँस फार्म बनाउने योजनाका साथ अभियान अघि बढाइएको बताए । ‘घाँसको बीउ किन्न चितवन, बर्दिया, काठमाडौ र सुर्खेतको मैनतडाबाट बीउ खरिद गर्ने गरिएको छ,’ उनले भने, ‘त्यसको अन्त्य गर्न ५ वटा बीउ उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्न लागिएको छ ।’
घाँसको बेर्ना उत्पादन गर्नुको मुख्य कारण गाउँपालिकालाई पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउने र पशुपालनको हब बनाउने योजना रहेको उनले बताए । ‘पर्याप्त जमिन रहेको चौकुनेमा पोषणयुक्त घाँस उत्पादन गरेको खण्डमा पशुपालन व्यवसाय फस्टाउने र त्यसले चौकुनेको समृद्धिलाई थप नजिक ल्याउने छ,’ उनले भने ।
पशुपालनमा व्यवसायीकरण गर्नको लागि जर्सी गाईको फार्म स्थापना गर्ने, मुर्रा भैंसी फार्म स्थापना गर्ने र व्यावसायिक बाख्रापालन फार्म स्थापनाका लागि घाँस तयार गर्न लगानी गरिएको उनले बताए । ‘गाउँपालिकाले चालू आर्थिक वर्षमा बाख्रापालन व्यवसायमा उत्पादकत्व सुधार गर्न १० वटा बोयर जातका बोका कृषकलाई वितरण गरेको छ,’ अध्यक्ष शाहीले भने । १० वटा बोका खरिदका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
गाउँपालिकाको २ नम्बर वडाको लगाम, ३ नम्बरको वेतान, ४ नम्बरको बिजौरा, ५ नम्बरको तोस्रा, ६ नम्बरको भाव्र, ७ नम्बरको साल्म र कोइरालवास, ८ नम्बरको बत्तीसपुतली र भट्टेसेरा तथा ९ नम्बरको नयाँवस्ती घाटगाउँमा स्थापना गरिएका नर्सरीमा घाँस विरुवा तयार भएको पशु सेवा शाखा चौकुनेका प्रमुख भोजप्रसाद चपाईले बताए ।
‘गाउँपालिकाको ५ लाख रुपैयाँ बजेट, दक्ष जनशक्तिको प्रयोग र पलैटे माविका विद्यार्थीको सहयोगमा नर्सरी तयार पारिएको हो,’ उनले भने, ‘नर्सरीमा विभिन्न जातका ३८ किलो डालेघाँस तथा भुइघासको बेर्ना उमारिएको छ भने हरित चौकुने गाउँपालिकाको महत्वपूर्ण नारालाई कार्यान्वयन गर्न नर्सरी स्थापना गरिएको छ ।’ बेर्ना चौकुनेको कम्तिमा पनि ५० हेक्टर खाली जमिनमा रोपिने छन् ।