
काठमाडौं — अमेरिकाको सियाटलमा बस्ने एक सामाजिक अभियन्ता एलन नाइम्यानले मर्नुअघि गरीब बालबालिकाका लागि एक अर्ब रुपैयाँभन्दा बढी बराबरको रकम दान गरेको थाहा हुन आएको छ ।
एलनका निकटवर्ती मित्रहरूले समेत यो दानका बारेमा थाहा पाएनन् । सन् २०१८ को जनवरी महिनामा क्यान्सरका कारण एलनको मृत्यु भयो । उनले लेखेको वसीयतबाट मात्र उनको दानका बारेमा थाहा लाग्यो ।
वाशिङटनमा बालबालिका सेवाको क्षेत्रमा एलनसँग काम गरेकी मेरी मोनाहन भन्छिन्, ‘यो कुराको जानकारी पाएपछि सबैजना छक्क परे । उनले यत्तिका रकम कसरी दान गर्न सके होलान् भनी सबैजना जान्न चाहन्छन् । उनले
आफूलाई क्यान्सर लागेको थाहा पाएपछि मर्नुअघि सबै सम्पत्ति परोपकारका लागि दान गर्ने त भनेका थिए । उनले समाजसेवाका क्रममा आर्थिक समस्यामा परेका र शारीरिक रूपमा कमजोर बालबालिकाका लागि काम गरेका थिए ।
उनले बालबालिकाका लागि ३० वर्षअघि बैंकिङ करीयर छोडिदिएका थिए ।’
एलनको सम्पत्ति स्थानीय परोपकार संगठनहरूले बाँडेर लिनेछन् ।
एलनको बैंकिङ करीयरमा उनीसँगै काम गरेका शशि करन भन्छन्, ‘उनी एकदमै कम खर्च गर्थे । उनलाई कार चढ्ने शोख त थियो र थोत्रै गाडी चलाउँथे । कपडा पनि सस्तै खालको लगाउँथे उनी । उनले यत्रि ठूलो रकम दान दिएको
थाहा पाएपछि म उनका बारेमा कमै जान्दो रहेछु भन्ने लाग्यो ।’
साथीहरूका अनुसार, एलनले बिहे गरेनन् तर उनी बच्चाबच्चीलाई खुबै माया गर्थे । बच्चाहरूमाथि खर्च गर्नका लागि उनी एकैपटक दुईतीनवटा जागिर गर्थे ।
एजेन्सी