
काठमाडौं- नेपालमा हरेक हप्ता दुईदेखी तीन नेपाली फिल्म प्रदर्शनमा आउने गरेका छन् । हलमा फिल्मको ब्यापार ओरालो लागिरहेको अवस्थामा पनि फिल्म प्रदर्शनमा कमी आउन सकेको छैन । अघिल्लो हप्ता ‘खाग’ र ‘अदालत’ प्रदर्शनमा आएका थिए । त्यस्तै, यो साता तीन नेपाली फिल्मको भिडन्त हुँदैछ । ‘द म्यान फ्रम काठमाडौं’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ आजबाट प्रदर्शनमा आएका फिल्म हुन ।
द म्यान फ्रम काठमाडौं
‘द म्यान फ्रम काठमाडौं’ नेपाली फिल्म अन्तराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्यसहित निर्माण गरिएको फिल्म हो । अंग्रेजी भाषामा खिचिएको फिल्मलाई नेपाली डब गरेर नेपालमा प्रदर्शन गरिएको हो । पाँच करोड भन्दा बढी लागतमा निर्माण गरिएको फिल्मलाई पेमा धोन्डुप शेर्पाले निर्देशन गरेका हुन् भने नकिम उद्दिनले फिल्मको निर्माण गरेका हुन् ।
फिल्मलाई नेपालको काठमाडौं र अमेरिकाको केही स्थानमा खिचिएको छ ।
धार्मिक युद्धको परिवेशमा बनेको फिल्ममा नेपालकै भेट्रान कलाकारदेखि बिदेशी कलाकारहरुको अभिनय छ । अमेरिकी अभिनेता जोसे म्यानुअल, गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली अभिनेत्री आना शर्मा, कलाकारहरु नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, आमिर गौतम लगायतको अभिनय छ । फिल्ममा एक्सन र लभस्टोरीको मिश्रण देख्न सकिन्छ । फिल्म प्रचारका लागि बलिउड अभिनेता गुल्सन ग्रोवर अहिले नेपालमा छन् ।
पुरानो बुलेट
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो, पुरानो बुलेट । फिल्मलाई पत्रकारिता पृष्ठभूमि भएका भिषण राईले निर्देशन गरेका हुन् । उनको यो निर्देशनमा डेब्यू फिल्म हो । फिल्ममा नायक अनुप विक्रम शाहीका साथमा दुई नायिका बर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका छ ।
साथमा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणी दवाडी, बादल श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मको कथा, पटकथा तथा लेखनमा भीषणसंग सन्तोष राइले साझेदारी गरेका छन् । सन्तोष फिल्मका कार्यकारी निर्माता पनि हुन् । फिल्ममा अशोक कुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । हङकङसंगै पूर्वका केही स्थानमा च्यारिटी शो गरेको फिल्मलाई दर्शकले रुचाएको निर्माण टिमको दाबी छ ।
जानी नजानी
आधुनिक प्रेमकथामा निर्माण भएको भनिएको ‘जानी नजानी’लाई लामो समय मुख्य सहायक निर्देशनका रुपमा काम गरिसकेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्मबाट पाका अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले डेब्यू गरेकी छिन् ।
फिल्ममा ढाका उद्योगको पृष्ठभूमि बनाएर प्रेमकथा उनिएको निर्माणपक्षले जनाएको छ ।। फिल्ममा निरिशाका साथमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह लगायतको अभिनय छ ।
रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । फिल्मलाई लिएर निर्माण यूनिट आशावादी देखिएको छ ।