
काठमाडौं। यही चैत २९ गतेबाट दुई चलेका ब्यानर र स्टार कलाकार अभिनित फिल्म प्रदर्शनमा आउँदैछन् । प्रदर्शनमा आउने तयारीमा रहेका ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’लाई लिएर सिने क्षेत्रमा फिल्म जुधाइको चर्चा चल्दै आएको छ ।
तर, अभिनेता अनमोल केसी एउटै मितिमा फिल्म प्रदर्शनमा आउनु जुध्नु वा भिड्नु नभएको बताउँछन् ।
‘मलाई फिल्मको जुधाइ वा भिडन्त भन्नु नै गलत लाग्छ’ मंगलवार राजधानीमा सञ्चारकर्मीसँग अनमोलले भने –‘दुई फिल्म जुध्न वा भिड्न लागेको होइन । एउटै मितिमा रिलिज हुन लागेका हुन् ।’
नेपाली फिल्म उद्योग आफ्नो परिवार भएको बताउँदै प्रतिस्पर्धा विदेशी फिल्मसँग मात्र हुने अनमोल बताउँछन् ।
झरना थापाको निर्देशनमा सुनिलकुमार थापा निर्मित ‘ए मेरो हजुर ३’मा अनमोल, सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत लगायतको अभिनय छ ।