
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि मंगलवार भएको छलफलमा भाग लिँदै उनले भने, 'समृद्धिको बाधक भनेको भ्रष्टाचार हो, हामीले यसलाई नियन्त्रण गर्ने कुरा गरिरहेका छौं, तर दिनदिनै झागिँदै गएको छ, यसबारेमा अनुसन्धान गरेर चिरफार गर्नुपर्छ ।'
आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उनले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई फिर्ता लिन सरकारलाई सुझाव दिए ।
नेकपाकी सांसद सुजिता शाक्यले आगामी बजेटलाई महिलामैत्री बनाउन र सामाजिक सुरक्षालगायतका रकमको सदुपयोगका लागि राष्ट्रिय परिचयपत्र बनाउने कामलाई पनि प्राथमिकता राखिनुपर्छ भनिन् ।