
सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैदेशिक समन्वय महाशाखा स्थापना गर्ने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले सो कुरा बताएका हुन् ।
उक्त महाशाखाले वैदेशिक सहयोग लगायतका बारेमा समन्वय गर्ने छ । यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रममा गैर सरकारी संस्थालाई पारदर्शी बनाइने उल्लेख छ । संघीय सरकारसँगको सहकार्यमा भेरी बबई डाइभर्सनमा प्रदेश सरकारले लगानी गर्ने र उक्त बाँधबाट ९ मेगावाट बिजुली उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै सरकारले उज्यालो कर्णाली बनाउने भन्दै डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने बताएको छ ।
सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीले स्थानीय उत्पादनबाट उत्पादित पोशाक प्रयोग गर्ने र स्थानीय उत्पादनको प्रयोगमा जोड दिने उल्लेख छ ।
कर्णाली प्रदेशमा जीवनोपयोगी पाठ्यक्रम बनाइ लागू गर्ने योजना सरकारको छ । ठूला उद्योग कलकारखानाका लागि बाटो बिजुली उपलब्ध गराई लगानीको सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
कर्णालीको विकासका लागि आगामी वर्ष लगानी सम्मेलन गरिने भएको छ । कपास र अल्लो खेतीलाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।