०९ असार २०८३, मंगलबार

खुला दिसामुक्त क्षेत्र अभियान भद्रगोल, किन हुँदैछ ढिलाइ ?

खुला दिसामुक्त क्षेत्र अभियान भद्रगोल, किन हुँदैछ ढिलाइ ?
प्रतिकात्मक तस्वीर

काठमाडौं – मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । 

सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौं र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । 

सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न निर्देशन दिएको छ । 

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेे अभियानलाई सफल पार्न घोषणा हुन बाँकी रहेका स्थानीय तहलाई घोषणा गर्न निर्देशन दिइएको जानकारी गराए ।

सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेपनि गर्न सकेको थिएन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेमा सबभन्दा अगाडि कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन् । ती प्रदेशका सबै स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी गराए ।

सबभन्दा बढी प्रदेश नम्बर २ का स्थानीय तह खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन् । प्रदेश नम्बर २ मा ४३ स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको छ । बारामा १४, पर्सामा ४, धनुषा १६, महोत्तरी आठ र सर्लाहीमा १ स्थानीय तह रहेका छन् । 

सिन्धुपाञ्चोकमा ११, काठमाडौंमा १, कपिलवस्तु ५, भोजपुर २ र सोलुखुम्बु १ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन् । 

कुन–कुन बाँकी ?

प्रदेश नम्बर १ को भोजपुर जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका रहेका छन् । 

प्रदेश नम्बर २ को बारा जिल्लाका कलैया नगरपालिका, जीतपुर सिमरा नगरपालिका, कोलहवी नगरपालिका, महागडीमाई नगरपालिका, सिमरौनगड नगरपालिका, पचरौटा नगरपालिका, आदर्श नगरपालिका, यस्तै गाउँपालिकामा कराइयामाई, देभतल, पर्वानीपुर, सुर्वाना, फेता, बारागढी, विसरामपुर रहेका छन् । 

पर्सा जिल्लामा विन्ध्यवासनी गाउँपालिका, धोबिनी गाउँपालिका, बाहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन् । 

यसैगरी सर्लाहीमा धनकौल गाउँपालिका रहेको छ । धनुषामा नगरपालिकामा जनकपुर उपमहानगर, क्षिरेश्वर, गनेसमान, धनुषाधाम, नागारेन, बिदेहा, शहीदनगर, सबैला, कमला, हन्सापुर, मिथिला विहारी रहेका छन् । यस्तै गाउँपालिकामा जानकी नन्दिनी, बाटेश्वर, मुखियापाती मुसारनिया लक्ष्मीनियाँ, औराही र धनान्जी रहेका छन् । 

महोत्तरी जिल्लाको नगरपालिकामा जलेश्वर, गौलाशा, लोहारपाट्टी, औराही, मातिहानी, भन्गहा रहेका छन् भने गाउँपालिकामा सोनाम र महोत्तरी रहेका छन् । सिन्धुपाञ्चोक जिल्लामा खुलामुक्त हुन नसकेका नगरपालिका चौतार सागाचोकगढी, बाह्रबिसे, मेलम्ची र गाउँपालिकामा इन्द्रावती, पञ्चपोखरी, भोटेकोशी, लिसंखुपाखर, हेलम्बु, त्रिपुरासुन्दरी  र सुनकोशी रहेका छन् । 

प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्लाका कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा नगरपालिका, महाराजगञ्ज नगरपालिका र सुद्धोधन गाउँपालिका रहेका छन् । 

सरकारले विक्रम संवत् २०६८ साउनमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्दै सरसफाइ गुरुयोजनाअन्तर्गत मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरेको थियो । उक्त गुरुयोजना सञ्चालन गर्दा ४३ प्रतिशत घरधुरी चर्पीको पहुँच रहेकोमा अहिलेसम्म ९९.५ प्रतिशत पुगेको मन्त्रालयका सचिव शर्माले जानकारी दिए ।

मन्त्रालयका सचिव शर्माले अहिले करीब २ हजार ५ सय चर्पीको निर्माण र प्रयोगको प्रवद्र्धन गरेमा मुलुकलाई छिट्टै खुलामुक्त नेपाल बनाउन सकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्