
काठमाडौं – सफल बोन्ड सिरिजको २५औं फिल्ममा बेलायती जासूस ००७ मा महिला देखिने भएकी छन् ।
बेलायती पत्रिका द डेली मेलको रिपोर्टअनुसार, अहिलेका बोन्ड ड्यानिएल क्रेगको ठाउँमा बेलायती अभिनेत्री लशाना लिन्चले ००७ को भूमिका निर्वाह गर्नेछिन् । लशानाले क्याप्टेन मार्भल फिल्ममा पाइलट मारिया राम्बेऊको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेकी थिइन् ।
फिल्मको कथामा अहिलेको जेम्स बोन्डले जासूसी संस्था एमआई६ छोड्छन् र जमैकामा बिदा मनाउँछन् । तर नयाँ शत्रुसँग लड्न उनलाई फर्काइन्छ । उनी एजेन्सीमा फर्किंदा उनलाई ००७ कोड नेम भएकी नयाँ सिक्रेट एजेन्टसँग परिचय गराइन्छ र ती एक काला जातिकी महिला हुन्छिन् ।
बोन्ड सिरिजको नयाँ फिल्मका शूटिङ लामो समयदेखि टरिरहेको थियो । शूटिङअघि मुख्य भूमिका निर्वाह गरेका ड्यानिएल क्रेगले जेम्स बोन्डको भूमिका खेल्नुभन्दा हातको नसा काट्नु ठीक हुने बताए । नयाँ बोन्ड फिल्ममा निर्देशकहरू पनि परिवर्तन भएको भयै छन् । अहिले क्यारी फुकुनागाले फिल्म निर्देशन गर्दैछन् ।
फिल्ममा क्रेगको ठाउँमा देखिने भनिएकी लशानाले इन्स्टाग्राममा पोस्ट शेयर गरेर फिल्ममा जोडिएको स्वीकार गरेकी छन् । यो फिल्म बेलायतमा सन् २०२० को अप्रिल ३ मा रिलिज हुनेछ ।