पलाँस अर्थात् एक प्रकारको सुन्दर फूल । यही नामको शीर्षक राखेर बनाइएको चलचित्रको फूल फुलेको त छ तर सबैलाई मोहित बनाउने गरी फुल्न भने सकेको छैन ।
नेपाली चलचित्रमा परम्परागत र वैकल्पिक धारको चलचित्र निर्माण क्रम चलिरहेको छ । प्रविधिगत रूपमा विश्व बजारसँग नेपाली बजार पनि कुनै न कुनै माध्यमबाट जोडिएको छ । बजार विस्तारसँगै नेपाली चलचित्र पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने हो । तर अझै पनि परम्परागत चलचित्र बन्ने प्रवृत्ति उस्तै छ ।
शुरुमै भनौं, चलचित्र त्यही परम्परागत धारमा निर्माण भएको छ । फिल्मको शुरुवात राम्रो छ तर क्लाइमेक्स झुर ।
कथानकका दृष्टिले तराईको कुनै गाउँमा सरस्वती (रेखा थापा) छे । स्कुल पढाउँछे । बिहे नगरेको भनेर दुनियाँले कुरा काट्दा पनि ऊ कुनै मतलब गर्दिन । धनी केटासँग बिहे गरेर ठूलो महलको रानी बन्ने उसको सपना छ ।
त्यही गाउँमा उसलाई अति नै माया गर्ने कृष्ण (अयुब रिजाल) छ । उसले आफ्नो माया प्राप्तिका लागि ठूलै त्याग गर्छ ।
कथा यिनै दुई पात्रको वरिपरि घुमेको छ । चलचित्र प्रेमकथा हो । एकोहोरो प्रेमकथा हो कि दोेहोरो भन्नेमा पंक्तिकार आफैं अलमलमा छ ।
चलचित्रमा कलाकारले राम्रो अभिनय गरेका छन् । कथानकलाई चाहिनेभन्दा बढी लम्ब्याइएको पनि छैन । होलीको रंगलाई बडो सुन्दर तरिकाले सिनेमाटोग्राफरले क्यामेरामा कैद गरेका छन् । केही संवादहरूलाई बेवास्ता गर्ने हो भने समग्रमा संवादलाई राम्रो भन्न सकिन्छ । फिल्म आफैंमा राम्रो प्रयास हो ।
मध्यान्तरपछि चलचित्रमा खलनायक बनेर आएका कामेश्वर चौरसियाले अब्बल अभिनय गरेका छन् । उनले आफ्नो भूमिकालाई न्याय दिएका छन् । अयुब रिजालको अभिनय ठीकठाक छैन । कृष्णको बच्चैदेखिको साथीको भूमिकामा देखिएका कमल देवकोटाले आफ्नो लोभलाग्दो अभिनयकै माध्यमबाट दर्शकलाई आफूतिर आकर्षित गर्छन् । बरू रेखा थापाले आफ्ना हरेक फिल्ममा गर्ने उस्तै हाउभाउ यो चलचित्रमा पनि पस्किएकी छिन् । अभिनयमा उनले ‘नयाँपन’ दिन सकेकी छैनन् ।

समग्र चलचित्रको छायांकन पक्ष औसत हो । फिल्ममा पात्रलाई फोकस गरिएको छ । तर लाइटिङ इफेक्ट प्रभावकारी छ । क्यामरा व्यापकता खोज्दै मुभ हुन सकेको छैन ।
चलचित्रको कथानक पहिलो हाफसम्म सुन्दर लाग्छ । पूरै दृश्यलाई कतै न कतै इन्गेज गराउन खोजिएको छ । सेकेन्ड हाफपछि भने चलचित्रले नाटकीय मोड लिन्छ । त्यो मोड बिस्तारै क्लाइमेक्ससम्म आइपुग्दा पूरै कृत्रिम बन्छ ।
चलचित्रको पार्श्व संगीत औसत हो । केही गीत राम्रा छन् ।
चलचित्रका पछिल्ला केही दृश्यमा मेहनत गरेको भए चलचित्र साँच्चै राम्रो बन्थ्यो । निर्देशकले अबका दर्शकले वास्तविकतालाई नाटकीय भन्दा पनि नाटकलाई वास्तविक बनाएको रुचाउँछन् भन्ने कुराको हेक्का राख्नुपर्ने थियो ।
एक प्रेमीले आफ्नो प्रेमका लागि कोठीलाई नै आफ्नो घर त बनाउन सक्ला त उसको परिवार छोराको मनोविज्ञानबाट कुन स्थितिमा छ भन्ने देखाउनुपर्ने थियो ।
समग्रमा चलचित्र औसत छ । सानातिना त्रुटिलाई ख्याल नगर्ने हो भने तपार्इंलाई फिल्म हेर्न रमाइलो नै लाग्नेछ । हलबाट निस्किने बेलामा फिल्म ठीकै हो, तर क्लाइमेक्स अलिक झुर बनाएछन् भन्ने तपार्इंलाई पनि पर्न सक्छ ।