
काठमाडौं – भारतको उत्तर प्रदेशस्थित एटा जिल्लामा एक व्यक्तिको बाख्रीले छिमेकीको छतमा गएर गोब्य्राएपछि बेस्सरी झैझगडा भएको छ ।
दुई परिवारबीच झगडा हुँदा गोली समेत चलेको छ । दुईजना घाइते भएका छन् । सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको छ र चारजनालाई पक्राउ गरेको छ । आरोपित चाहिँ फरार छन् ।
छिमेकीहरू योगेश र सुखवीरले सम्पत्तिका विषयमा लामो समयदेखि विवाद गरिरहेका छन् । मंगलवार सुखवीरको बाख्रीले योगेशको घरको छतमा गएर मलत्याग गरी । त्यसपछि रिसाएको योगेश सुखवीरको घर गएर झगडा गर्न थाल्यो । परिवारका अन्य सदस्य पनि झगडामा मिसिन आइपुगे । दुवै पक्षले लट्ठी हानाहान गरे अनि गोली पनि चलाए ।
प्रहरीले सातजनाका विरुद्ध उजुरी दर्ता गरेको छ र चारजनालाई पक्राउ गरेको छ । उनीहरूमाथि हत्या प्रयास, शान्ति भंग र अन्य धारामा उजुरी दर्ता गरिएको छ । अनि अवैध हतियार राखेको विषयमा पनि उजुरी दर्ता गरिएको छ ।
एजेन्सी