१६ असार २०८३, मंगलबार

एकवर्षमा ९० चलचित्र बने, ६ ले मात्र लगानी उठाए

कात्तिक २०, २०७४
एकवर्षमा ९० चलचित्र बने, ६ ले मात्र लगानी उठाए

काठमाडौं, २६ चैत– विगतको तुलनामा चलचित्रको बजार फैलिँदै गएपनि नेपाली चलचित्र अझै पूर्ण व्यावसायिक बन्न सकेको छैन । अहिले पनि अधिकांश निर्माताले चलचित्रमा गरेको लगानी उठाउन सकेका छैनन् ।film year

यस वर्ष निर्माण भएका ९० चलचित्रमध्ये जम्मा ६ चलचित्रले मात्र लगानी उठाएका छन् । अरू चलचित्रले न लगानी उठाउन सके, न चर्चा बटुल्न नै सके । नेपाली चलचित्रको इतिहासमा एउटा नाम थप्न बाहेक अर्थोक केही गर्न सकेनन् ती सिनेमाले ।

पछिल्लो समय चलचित्र ‘लूट’ बाट विकास भएको नयाँ प्रवृत्ति पनि अब ‘आउटडेटेड’ लाग्न थालिसकेको छ । उनै कहानी दोहोरिएका हुन् कि भन्ने लाग्न थालेको छ अहिले दर्शकलाई ।

तर निर्देशक दिपेन्द्र के खनाल भने यसमा असहमति जनाउँछन् । ‘बल्ल हामीले आफ्ना समाजका कथा खोज्न थालेका छौं, हामीले अझै कैयौं कथा त खोज्न सकेकै छैनौं,’ खनाल भन्छन्, ‘हामीले आफ्ना मौलिक कथा भन्न सक्नुपर्छ ।’

चलचित्र ‘लूट’ पछि भित्रिएको टे«न्डले बक्स अफिसमा लूट त मालामाल भयो तर त्यसपछि आएका अन्य फिल्म भाग्यशाली हुन सकेनन् । सिक्वेल ‘लूट २’ भने सोचेअनुरूप नचलेपनि लगानी उठाउन भने सफल भयो ।

यसवर्ष चलचित्र ‘जात्रा’, ‘वीरविक्रम’, ‘लूट २’ लगायतका केही चलचित्रले मात्र आफ्नो लगानी उठाएर फाइदा बटुल्न सफल भए । त्यसबाहेकका अन्य चलचित्र भने असफल नै रहे ।

प्रशंसा बटुलेको चलचित्र ‘पुरानो डुंगा’को पहिलो गाँसमै ढुंगा लाग्यो । चलचित्र फ्लप मात्र भएन, यसले दर्शकबाट नकारात्मक प्रतिक्रियाको रास पायो ।

चलचित्रले दर्शक झुक्याएको आरोप पनि पायो । त्यस्तै चर्चामा आएर पनि असफल भएका अन्य चलचित्रमा लुकामारी पनि पर्छ । प्रचार त गरियो तर फिल्म फ्लप नै भयो । सौगात मल्लकै अर्को फिल्म ‘शब्द’ ले पनि चर्चा कमाउन सकेन, न त लगानी नै उठायो ।

फिल्मको बजारमा कुनै सकारात्मक संकेत दिएन २०७३ ले ।
नेपालमा फिल्म बन्छन् अनि डुब्छन् । निर्माताहरू अर्को फिल्म बनाएर लगानी उठाउँला भनी आश पनि गर्न पाउँदैनन् किनकि उनीहरूमा अर्कोपटक फिल्म बनाउने आँटै पुग्दैन । समय र लगानी दुवै खर्च गरेर बनाइएका फिल्म ‘फ्लप’ मात्र हुन्छन् ।

तर धेरैजसो सिनेकर्मीले आफ्ना चलचित्र सफल भएको दाबी पनि गर्ने गरेका छन् ।
फिल्म बन्नु र लगानी उठाउनुमा यति ठूलो ‘चुनौती’ भएपनि फिल्म बन्न भने रोकिँदैनन् । रिलिज भएका फिल्मको सूचीमा निर्माताले आफ्नो नाम लेखाउँछन् ।

चलचित्र ‘छक्का पञ्जा’ सफल भएपछि यसको निर्माण टोली मख्ख प-यो । फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली बजारमा चर्चा कमायो । चर्चा बटुल्ने अर्को फिल्म जात्रा पनि हो । समीक्षकद्वारा रुचाइएको फिल्मका ‘डाइङ क्यान्डल’ पनि पर्छ । तर फिल्मले राम्रो व्यापार गर्न सकेन ।

अभिनेत्री तथा निर्देशक समेत रहेकी दीपाश्री निरौला आफ्नो चलचित्र ‘छक्का पञ्जा’ सफल हुनुको मुख्य कारण समाजको कथा बोलेको बताउँछिन् । ‘हामीले वैदेशिक रोजगारीमा आधारित समाजको कथालाई उठान गरेका छौं, उनले लोकान्तरलाई बताइन्, ‘चलचित्र सफल हुनुको अर्को कारण यसको गीत संगीत पनि हो ।’

‘अब बनाउने चलचित्रमा पनि हामीले समाजकै कथालाई फिल्ममा जोड्न खोजेका छौं,’ उनले थपिन्, ‘सबैले मन पराएका कलाकार भएकाले पनि हाम्रो फिल्म सफल भएको हो ।’

यसै वर्ष चलचित्र ‘दर्पण छायाँ २’ निर्देशन गरेका निर्देशक तुलसी घिमिरे आफ्नो चलचित्रले लगानी उठाएको र एकदमै राम्रो प्रतिक्रिया पाएको बताउँछन् ।

‘केही समीक्षकले इतिहासकै नराम्रो चलचित्र भनेर पनि समीक्षा गरिदिनुभयो, तर चलचित्रले धेरै सकारात्मक प्रतिक्रिया पाएको छ,’ उनी सुनाउँछन्, ‘चलचित्रले आफ्नो लगानी सुरक्षित त गरिसकेको छ, फ्लप फिल्म भन्न मिल्दैन ।’

चलचित्र ‘लभ सासा’ समीक्षकबाट राम्रो प्रतिक्रिया पाएर पनि असफल भएको अर्को चलचित्रको सूचीमा संग्रहित छ ।
निष्कर्षतः नेपाली चलचित्र बन्ने क्रम पनि रोकिएको छैन, असफल बन्ने क्रम पनि रोकिएको छैन । पढेका फिल्ममेकरसँग अनुभव छैन । अनुभव भएका मेकरसँग सैद्धान्तिक ज्ञान छैन । त्यसैले पनि नेपाली फिल्म एकपछि अर्को गर्दै असफल बन्दै गइरहेका छन् ।

निर्माता तथा निर्देशकले ‘प्रचारले मात्र फिल्म चल्दैन’ भन्ने सूत्र नबुझेसम्म नेपाली फिल्मले लगानी उठाउन सक्छन् भन्ने कुराको आँकलन गर्न सकिन्न । नयाँ फिल्मका लागि नयाँ सोच र नयाँ अभिनयसहित स्तरीय फिल्मांकनको आशामा नेपाली दर्शक भने आशावादी छन् ।

salt training

कमेन्ट गर्नुहोस्