काठमाडौँ, २७ चैत - तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ, गोरखापत्रमा खबर छ ।

नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेका छन् । धेरैजसो मोबाइल प्रयोगकर्तालाई +२१६... नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।
“यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ”, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने , “यो ‘स्पाम कल’ हो । ” यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले जानकारी दिए ।