
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुधवार नेकपा केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा तथा राष्ट्रिय सभागृहमा बिहीवारबाट समूहगत छलफल शुरू भएको हो ।
राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले १५ वटा समूह बनाएको छ ।
समूहगत छलफलपछि शुक्रवार दिउँसो १ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्न निर्देशन दिइएको केन्द्रीय सदस्य चूडामणि जंगलीले लोकान्तरलाई जानकारी दिए ।
समूह चयन गर्ने नेताले समूहगत छलफलका निष्कर्ष केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछन् ।
बुधवार शुरू नेकपा केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारका काम कारवाही र पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सविस्तार व्याख्या गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मन्तव्य राखेपनि केन्द्रीय सदस्यहरूले यो विषयलाई पनि छलफलको एजेन्डा बनाउन माग गरेका थिए ।
पार्टी एकीकरणपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १९ गते आइतवारसम्म चल्ने नेकपाले जनाएको छ ।