
काठमाडौं, १९ माघ- झण्डै २३ घण्टामा समेटिएको आफ्नो २ दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार दिउँसो स्वदेश फर्किएकी छन् । बिहीबार अपराह्न विशेष विमानबाट काठमाडौं ओर्लिएकी स्वराज शुक्रबार दिउँसो ३ बजे सोही विमानबाट दिल्ली प्रस्थान गरेकी हुन् ।
नेपाल आएलगत्तै सोल्टी होटल पुगेकी स्वराजले त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टा 'वान टू वान' वार्ता गरिन् । भावी प्रधानमन्त्रीको रूपमा हेरिएका ओलीले स्वराजको सम्मानमा सोल्टीमै रात्रिभोजको आयोजना गरेका थिए ।
ओलीसँगको 'वान टू वान' वार्ता र एमाले नेताहरुसँगको सामूहिक भेटपछि स्वराजले मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरुसँग बिहीबार नै भेटिन् ।
शुक्रबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी स्वराजले त्यसपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रपति विद्यादेवी भण्डारी र अन्त्यमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो भ्रमणलाई बिट मारिन् ।
बिदा हुनुअघि उनी बालुवाटारमा प्रधानमन्त्री देउवाले आयोजना गरेको दिवाभोजमा सरिक भएकी थिइन् ।
जनमत प्राप्त नयाँ सरकार बनिनसकेको अवस्थामा नेपाल भ्रमणमा आएकी स्वराजले के सन्देश दिएर, अनि के लिएर फर्किइन् त ?
चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका एमाले केन्द्रीय सदस्य टंक कार्की नेपाल अब 'जुनियर पार्टनर' होइन, समान हैसियतको सम्बन्ध चाहन्छ भन्ने सन्देश लिएर फर्किएको दाबी गर्छन् ।
'नेपाल भारतसँगको सम्बन्धलाई प्राथमिकता राख्छ, तर त्यो प्रभाव क्षेत्र वा विशेष सम्बन्धका रूपमा होइन,' कार्कीले लोकान्तरसँग भने, 'दुवैको हित र संवेदनशीलतालाई सम्मान गर्ने गरी समान हैसियतको सम्बन्ध नेपालले चाहेको छ भन्ने सन्देश लिएर फर्किइन् भन्ने मलाई लाग्छ ।'
भ्रमणको 'टाइमिङ' गलत भए पनि भारतले आफ्नो विदेश नीतिमा बदलाव ल्याएको संकेतका रूपमा यसलाई बुझ्नुपर्ने उनको तर्क छ । 'परम्परागत रूपमा भारतको आफू दाजु बन्ने जुन विदेश नीति थियो, त्यसमा बदलाव आएको सन्देशका रूपमा बुझ्नुपर्छ,' उनले भने ।
यो भ्रमणले भारत नेपालका वामपन्थीहरूसँग सम्बन्ध सुधार गर्न चाहन्छ भन्ने देखिएको उनको भनाइ छ । 'नेपालमा अब बन्ने वाम सरकार नै हो, त्यो पनि केपी ओलीकै नेतृत्वमा,' कार्कीले भने, 'नाकाबन्दी यता सम्बन्ध सुमधुर थिएन, त्यसमा सुधारको पहलका रूपमा पनि बुझ्नुपर्छ ।'
पूर्वराजदूत समेत रहेका कुटनीतिक मामलाका जानकार जयराज आचार्य नेपालमा नयाँ बन्ने सरकारसँग भारतले मिलेर अघि बढ्न चाहेको ठान्छन् । 'भावी सरकार वाम गठबन्धनको नै बन्ने भयो, यो सबैलाई थाहा छ,' उनले भने, 'नाकाबन्दीयता वाम दलहरुसँग भारतको राम्रो सम्बन्ध थिएन, त्यसैले नेपालसित कटूता राख्नु भन्दा मिलेरै अघि बढ्नुपर्छ भन्ने भारतको बुझाइ देखिन्छ ।'
भारतको नेपाल नीति कर्मचारीतन्त्रले हेर्ने गरेकोमा अहिले राजनीतिक तहबाटै 'डिल' गर्ने पहल गर्नु सकारात्मक भएको उनको तर्क छ ।
त्यसो भए के सन्देश लिएर फर्किइन् त ? 'वाम सरकारको भावी प्रधानमन्त्री भनिएका केपी ओलीले पनि भारतसँग सु-सम्बन्ध राख्छु नै भन्नुभयो होला,' जवाफमा आचार्यले भने, 'यो नेपालका जुनसुकै सरकारको आवश्यकता र बाध्यता पनि हो ।'
त्यसो त स्वराज एमाले अध्यक्ष ओलीकै निमन्त्रणामा नेपाल आएको चर्चा पनि चल्यो । तर, एमाले सचिव प्रदीप ज्ञवाली त्यसलाई ठाडै अस्वीकार गर्छन् ।
'यो नितान्त प्रायोजित प्रचार हो । उहाँ (ओली) अहिले निम्ता गर्ने अवस्थामा हुनुहुन्न । कुनै पनि पार्टीको नेताले विदेशमन्त्रीलाई बोलाउने प्रश्नै हुँदैन,' लोकान्तरसँगको अन्तर्वातामा ज्ञवालीले भने ।
हेर्नुहोस् अन्तर्वार्ता:
भारतीय विदेशमन्त्रीका तीनवटा सन्देश थिए : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]