
काठमाडौं, १३ चैत-कतारमा काम गर्दा गर्दै डेढ वर्षअघि मृत्यु भएका लवकुश चमारकी श्रीमती अनिता चमार क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभागको कार्यालय धाइरहेकी छिन् । तौलिहवाको वुद्धभूमि हथिहवा बस्ने अनिताको विवाह ७ वर्षअघि भएको हो । तर विवाह दर्ता र नागरिकता नहुँदा क्षतिपूर्ति दाबी गर्न ढिला भयो ।
वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार अनिताका पति लवकुशले २०६९ साल फागुन ४ गते पहिलोपटक कतारका लागि श्रम स्वीकृति लिएको र छुट्टीमा आएर जाँदा दोस्रोपटक २०७२ जेठ २६ गते श्रम स्वीकृति र प्राइम लाइफ इन्स्योरेन्सबाट दुई वर्षे वदेशिक रोजगार बिमा गराएर पुनः कतार गएका थिए ।
उनले कतारको 'अल हुड ट्रेडिङ' एण्ड कन्ट्रयाकटिङ कम्पनीमा महिनाको ६०० रियल बेसिक तलबमा पेन्टिङगको काम गर्थे । त्यसपछि २०७३ कार्तिकमा उनको मृत्युको खबर उनीसंगै काम गर्ने साथीले घरमा दिएका थिए । त्यसयता अनिता चमार माइत बस्दै आएकी छिन् ।
मृतकले अन्तिमपटक बिमा गराएको मितिले दुई वर्षभित्रमा बिमा रकम र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने क्षतिपूर्ति दाबी गरिसक्नुपर्ने प्रावधान छ । तर लवकुशको हकमा त्यो सीमा नाघेर पनि नौ महिना काटिसकेको छ । त्यही पनि राहत र बिमा रकम पाउने आशामा देखिन्थिन् अनिता ।
आफ्नो सासू/ससुराले विवाह दर्ता गराउन असहयोग गरेको गुनासो उनले लोकान्तरसँग गरिन् । अनिताका ससुरा पहिल्यै क्षतिपूर्ति र बिमा रकम लिन काठमाडौं आएका थिए, तर मृतकको विवाह भइसकेको हकमा पहिलो दाबी श्रीमतीको र त्यसपछि मात्र आमाबुबाको हुने भनिएपछि उनीहरु यत्तिकै फिर्ता भए ।
सासू/ससुराको असहयोगका बावजुद् स्थानीयले सहयोग गरेर विवाह दर्ता र नागरिकता बनाइदिएको उनले बताइन् ।
केहीदिन अघि मात्र बनाएको नागरिकता र विवाह दर्ता लिएर वैदेशिक रोजगारमा आइपुगेकी अनिता के गर्ने र कसो गर्ने भन्ने अन्यौलमा थिइन् । उनका छोराछोरी पनि छैनन् ।
उनका ससुरा रामलखन चमारले आफ्नो छोराको लाससंगै आएको मृत्युको प्रमाणपत्र र पासपोर्ट पनि दिएका छैनन् । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने क्षतिपूर्तिका लागि मृत्युको प्रमाणपत्र अनिवार्य हुने गर्दछ ।