२३ जेठ २०८३, शनिबार

तातो लहरसम्बन्धी विशेष बुलेटिनः १४ जिल्लामा सतर्क रहन आग्रह

जेठ २१, २०८३
काठमाडौं
तातो लहरसम्बन्धी विशेष बुलेटिनः १४ जिल्लामा सतर्क रहन आग्रह

 जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ः०० बजे तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो । 

    जारी विशेष बुलेटिनमा आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार आज भैरहवामा भने ४१ डिग्री तापक्रम मापन भएको छ भने नेपालगञ्जमा ४० डिग्री छ । 

    मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ । “कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउनु होला”, विभागको सूचनामा उल्लेख छ । महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ । 

    सतर्क रहनुपर्ने जिल्लाहरू 
    
    विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट-सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले सतर्क रहने अनुरोध गरेको छ । 

    त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट-सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई सूचना अध्ययावधि सूचना हेर्न अनुरोध गरिएको मौसमविद् पुडासैनीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्