
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र नेपाल–भारत सम्बन्धको भविष्यलाई लिएर छिमेकी देश भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’मा लेख प्रकाशित गरेका छन् । भारत भ्रमणमै रहेका बेला उनले ‘हिन्दुस्तान टाइम्स’मा लेख प्रकाशित गरेका हुन् ।
आज प्रकाशित लेखमा नेपाल–भारत सम्बन्धलाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने दशकौँपछिको सबैभन्दा अनुकूल अवसर (ऐतिहासिक झ्याल) का रूपमा चित्रण गरिएको छ । उनले दुई देशबीचको सहकार्यलाई भूराजनीतिक टकरावबाट मुक्त गरी विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
लामिछानेले आफ्नो लेखमा नेपालमा हालैका वर्षहरूमा भएको राजनीतिक परिवर्तन कुनै सैन्य कू, सडक हिंसा वा संवैधानिक शून्यताबाट नभई शान्तिपूर्ण र लोकतान्त्रिक मतदान क्रान्तिमार्फत भएको उल्लेख गरेका छन् ।
नयाँ स्थापित राजनीतिक दलले चार वर्षभन्दा कम समयमै झन्डै दुई तिहाइको संसदीय बहुमत प्राप्त गर्नु र विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित हुनु राजनीतिक इतिहासमै एउटा अभूतपूर्व घटना भएको उनको दाबी छ। यसले विश्वभर र विशेष गरी नेपालसँग लामो साझा सीमा भएको छिमेकी भारतमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक रहेको चर्चा गर्दै उनले रास्वपाले प्राप्त गरेको मत आक्रोश र आशा दुवैको प्रतिबिम्ब भएको र अबको नेपाल सुशासन, विकास र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको मार्गमा अघि बढेको प्रष्ट पारेका छन्।
आफ्नो दल र वर्तमान नेतृत्वको सबैभन्दा ठूलो सम्पत्ति नै विगतको कुनै झोला नबोक्नु र पुराना नेताहरूजस्तो विगतका सानातिना सम्झौता वा मौन समझदारीमा नलगाउनु रहेको लामिछानेले दाबी गरेका छन्।
आफूहरूले भारत र संसारलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाका साथ हेर्ने भन्दै उनले दुई देश केवल छिमेकी मात्र नभएर अयोध्या–जनकपुर, पशुपतिनाथ–केदारनाथ र लुम्बिनी–बोधगयाको सांस्कृतिक सामीप्यता बोकेको प्राचीन सभ्यताका साझेदार रहेको बताएका छन्।

भारतले हालैका दशकहरूमा हासिल गरेको तीव्र आर्थिक वृद्धिको प्रशंसा गर्दै लामिछानेले नेपाल भारतको विकासको साझेदार बन्न चाहेको स्पष्ट पारेका छन्। भारतले प्रतिदिन १५ किलोमिटर रेकर्ड गतिमा रेलवे ट्र्याक बिछ्याइरहेको सन्दर्भ जोड्दै उनले १५० किलोमिटरभन्दा कम दुरीको प्रस्तावित रक्सौल–काठमाडौं रेलवे लाइन जोडिएमा व्यापार, पर्यटन र क्षेत्रीय सम्पर्कमा क्रान्ति आउने विश्वास व्यक्त गरेका छन्।
यसका साथै उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुका लागि सिधा उडानको प्रस्ताव गर्दै आन्ध्र प्रदेश र तेलंगानाको सूचना प्रविधि विकासबाट सिक्दै 'काठमाडौँ–बेंगलुरु डिजिटल करिडोर' निर्माण गर्ने आकांक्षा व्यक्त गरेका छन्।
गुजरातको औद्योगिक मोडलबाट प्रेरित भई सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्ने र नेपालमा भारतका स्थापित संस्थाहरू आईआईटी र एआईईएमएसजस्ता संरचनाहरू भित्र्याएर प्राविधिक क्षेत्रमा नवप्रवर्तन प्रयोगशाला र टेक-हबहरू स्थापना गर्न उनले भारतीय पक्षलाई आह्वान गरेका छन्। खेलकुदको प्रसंगमा उनले नेपाली खेलाडी र रङ्गशालाहरूलाई इन्डियन प्रिमियर लिग (आईपिएल) को फ्रान्चाइजीमा कसरी एकीकृत गर्न सकिन्छ भन्नेबारे पनि गम्भीरतापूर्वक सोचिरहेको उल्लेख गरेका छन्।
लामिछानेले रास्वपाले नेपाल–भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक घर्षणबाट टाढा सारेर विकास कूटनीतिमा राख्न चाहेको प्रष्ट पारेका छन्। कूटनीतिक नियोगहरूलाई लगानी र व्यापारको इन्जिन बनाउनुपर्ने, खण्डित सीमापार व्यापारबाट मुक्त भई बलियो एकीकृत ऊर्जा बजार बनाउनुपर्नेमा जोड दिएका छन् ।
लेखको अन्त्यमा लामिछानेले सन् २०१४ अगस्ट ३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसद्मा दिएको भाषण र साटेको प्रेम र विश्वासको क्षणलाई स्मरण गरेका छन्। त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको टिप्पणी गर्दै उनले अब दुवै देशसँग त्यो अगस्टको दिनको विश्वास र न्यानोपनमा फर्कनुको विकल्प नरहेको बताएका छन्।