
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि मन्त्रिपरिषद्को नयाँ स्वरूप तय गरिएको हो ।
पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसदलाई मन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीहरूसँगै उनीहरूले सम्हाल्ने मन्त्रालयसमेत तोकिएको छ ।
नयाँ जिम्मेवारीअनुसार एमालेका तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको नेतृत्व गर्नेछन् । त्यस्तै रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।
जसपाबाट भण्डारीलाल अहिर आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए ।