
विराटनगर, २१ वैशाख -जिल्ला समन्वय समिति मोरङको कार्यालय सार्ने बिषयमा समन्वय समितिका प्रमुख नरेश पोखरेलले असहयोग गरेका छन् ।
लामो समयसम्म संसद भवनको लागि कार्यालय छाड्न आलटाल गर्दै आएका पोखरेलसंग आज दिउँसो प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले छलफल गरेका छन् | छलफलपछि पत्रकारसँग कुराकानी गर्दै राइले कार्यालय सार्ने बारेमा पोखरेल सकारात्मक रहेको बताएका थिए |
जिल्ला समन्वय समितिलाई सार्ने बिषयमा जिल्ला समन्वय समिति सकारात्मक रहेको भनी मुख्यमन्त्री शेरधन राईले बताएको केही घण्टा बित्न नपाउँदै पोखरेललाई टेलिफोन गरी जानकारी लिन खोज्दा उनले समन्वय समिति सार्ने कुनै सहमती नभएको बताए ।
‘जिल्ला समन्वय समितिको बैठक नबस्दासम्म केही भन्न सक्दिन, उनले भने, अहिलेसम्म छलफल मात्र भएको हो सार्ने बारेमा सकारात्मक भएको हैन ।’
यसअघि संसद सचिवालय तथा प्रदेश सभा भवन निर्माणको चरणमा नै पत्रकार सम्मेलन गरी पोखरेलले आफूले कुनैपनि हालतमा भवन नछाड्ने अडान राखेका थिए ।
यसैबीच जिल्ला समन्वय समितिले लामो समयसम्म कार्यालय ब्यवस्थापन नगर्दा प्रदेश सभा संचालनमा समेत समस्या हुँदै आएको छ भने सुरक्षा संवेदनशिलता बढेको भन्दै सांसदहरुले टिप्पणी गर्दै आएका छन् । तर त्यो बिषयमा समन्वय समितिका प्रमुखले सुने नसुनेको झै गर्दा समस्या भएको प्रदेश सभाका एक सदस्यले बताए । तपाईकै कारण प्रदेश सभा अनी राजधानी अन्यत्रै सर्ने भयो नी त ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘राजधानी पनि सर्दैन, प्रदेश सभा पनि कतै जाँदैन अनी जिल्ला समन्वय समिती पनि काँही जाँदैन ।’
उनको असहयोगले प्रदेश सरकारका मन्त्री मात्र हैन मुख्यमन्त्री, सांसद, तथा सभामुख पनि रुष्ट बनेको संसद सचिवालय श्रोत बताउँछ ।