३१ असार २०८३, बुधबार

आफ्ना सन्तानको खर्च नव्यहोर्ने १३ हजार अर्जेन्टिनीलाई विश्वकपमा 'नो-एन्ट्री' !

असार ४, २०८३
काठमाडौं
आफ्ना सन्तानको खर्च नव्यहोर्ने १३ हजार अर्जेन्टिनीलाई विश्वकपमा 'नो-एन्ट्री' !

फिफा विश्वकपमा साविक विजेताको रूपमा मैदान उत्रिएको अर्जेन्टिनाका कप्तान लियोनल मेसीका प्रशंसकहरू आफ्नो प्रिय खेलाडीले पुनः एकपटक विश्वकपको ट्रफी उचालेको हेर्न आतुर छन् । यही ऐतिहासिक क्षणको साक्षी बन्न हजारौँ प्रशंसकहरू अमेरिका समेत पुगिसकेका छन् । 

सामान्यतया रङ्गशालामा प्रशंसकहरूको उपस्थिति र हुटिङले खेलाडीहरूको जोस बढाउने गर्दछ । तर, अचम्मको कुरा के छ भने, आफ्नै देशका केही प्रशंसकहरूले म्याच हेर्न नपाउन् भन्ने पक्षमा अर्जेन्टिना सरकार लागेको छ ।

अर्जेन्टिना सरकारले १३ हजार प्रशंसकहरूको एउटा सूची तयार पारेर अमेरिकी अधिकारीहरूलाई बुझाएको छ । सरकार ती व्यक्तिहरूलाई अमेरिकामा भइरहेको विश्वकप खेलहरूमा रङ्गशालाभित्र प्रवेश नदिइयोस् भन्ने चाहन्छ । सुन्दा अलिक अनौठो लागे पनि यसको पछाडि अर्जेन्टिना सरकारको एउटा विशेष र सामाजिक उद्देश्य जोडिएको छ ।

'एएएस' (एएस) को रिपोर्ट अनुसार अर्जेन्टिना सरकारले तयार पारेको उक्त सूचीमा त्यस्ता पेरेंट्स (आमाबुबा) को नाम समावेश छ, जसले आफ्ना छोराछोरीलाई आर्थिक रूपमा सहयोग वा भरणपोषणको खर्च बेहोरिरहेका छैनन् । सरकारको स्पष्ट भनाइ छ– 'यदि यी मानिसहरूले आफ्ना बालबालिकाको हेरचाह र ध्यान राख्न सक्दैनन् भने, उनीहरूलाई रङ्गशालामा गएर म्याच हेर्ने अधिकार पनि छैन ।'

यो कदम सरकारको 'सेफ स्ट्यान्ड्स' अभियानको एउटा हिस्सा हो । अभियानमार्फत आफ्ना बालबालिकाको आधारभूत आवश्यकताहरूलाई बेवास्ता गर्ने आमाबुबाहरूलाई पहिचान गरी उनीहरूमाथि कडा कारबाही गरिँदै आएको छ । फिफा विश्वकपको समयमा धेरै अर्जेन्टिनी नागरिकहरूले अमेरिकी भिसाका लागि आवेदन दिएका थिए । सरकारले तिनै आवेदकहरूको डाटा (तथ्याङ्क) विस्तृत रूपमा जाँच गरेर यो सूची तयार पारेको हो ।

केही हप्ताअघि देशका सुरक्षा मन्त्री अलेक्ज्यान्ड्रा मोन्टेलिभाले सामाजिक सञ्जालमा यसबारे एउटा भिडियो सार्वजनिक गर्दै स्पष्ट पारेका थिए, 'यदि कसैसँग विदेश जाने र विश्वकप हेर्ने पैसा छ भने, उसले सबैभन्दा पहिले आफ्ना बालबालिकाको खर्च उठाउनु पर्छ ।'

रङ्गशाला जान नपाउने गरी लगाइएको यो प्रतिबन्ध स्थायी भने होइन । यदि सूचीमा परेका व्यक्तिहरूले आफूले बालबालिकाको खर्च बेहोरिरहेको प्रमाणित गरेमा वा बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएमा उनीहरूको नाम सूचीबाट हटाइनेछ । पछिल्ला महिनाहरूमा अर्जेन्टिनामा आफ्ना सन्तानको खर्च नबेहोर्नेहरूको खोजी कार्य तीव्र पारिएको छ ।

अमेरिकी अधिकारीहरूलाई यो सूची बुझाउने सरकारको निर्णयलाई अर्जेन्टिनाका आम जनताले ठुलो समर्थन गरेका छन् । हालैका वर्षहरूमा धेरै आमाहरूले आफ्ना बच्चाको भरणपोषणको खर्च नउठाउने बुबाहरू विरुद्ध उजुरी दिएका थिए, जसका कारण सरकार यो विषयमा थप कडा रूपमा प्रस्तुत भएको हो ।

प्रशंसकहरूमाथिको प्रतिबन्धको चर्चाबीच अर्जेन्टिनी टोलीले भने विश्वकपमा सानदार शुरूआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० को सहज गोल अन्तरले पराजित गर्‍यो ।

खेलमा कप्तान लियोनल मेसीले विश्वकप इतिहासमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरे । खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका मेसीले ६० औँ मिनेटमा दोस्रो र ७६ औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा रङ्गशालामा उपस्थित दर्शकहरूले उठेर उनको सम्मान र खुसीयाली मनाएका थिए ।

 ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल गोल सङ्ख्या १६ पुगेको छ र उनी विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजको कीर्तिमानसँग बराबरीमा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्