
फिफा विश्वकप २०२६ सबैभन्दा रोमाञ्चक चरणमा प्रवेश गरेको छ । क्वाटरफाइनलका खेल सकिएसँगै विश्व फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा शीर्ष चार स्थान ओगट्न सफल टोली नै सेमिफाइनलमा पुगेका छन् ।
यसले आगामी सेमिफाइनल भिडन्त निकै उच्च स्तरको र रोचक हुने देखिएको छ ।
ताजा फिफा वरीयता अनुसार दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
अब फाइनल प्रवेशका लागि फ्रान्सले विश्व वरीयताको तेस्रो स्थानमा रहेको स्पेनको सामना गर्नेछ ।
स्पेनले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ को कठिन अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यी दुई फूटबलका महारथीबीचको पहिलो सेमिफाइनल खेल आगामी बुधबार, जुलाई १५ मा हुनेछ ।
त्यस्तै, अर्को सेमिफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना र चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डबीच महाभिडन्त हुने भएको छ ।
आइतबार बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले स्विजरल्यान्डलाई ३–१ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
अर्कोतर्फ, निकै लयमा देखिएको इङ्ग्ल्यान्डले नर्वेलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो उपस्थिति जनाएको छ ।
अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको यो बहुप्रतीक्षित खेल आगामी बिहीबार, जुलाई १६ मा हुनेछ ।
विश्वकपको इतिहासमा विरलै मात्र यस्तो संयोग जुर्ने गर्छ; जहाँ फिफा वरीयताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्छन् ।
यसपटकको सेमिफाइनलमा पुगेका सबै टोली उच्च लयमा रहेका र विश्वप्रसिद्ध खेलाडीले भरिएका कारण फूटबल प्रेमीहरूले निकै प्रतिस्पर्धात्मक खेल हेर्न पाउने अपेक्षा गरिएको छ ।