१२ साउन २०८३, मंगलबार
फिफा विश्वकप–२०२६

मैदान बाहिरका यी रोचक किस्सा- भिसा नपाउनेलाई टीभी उपहारदेखि प्रशिक्षकको आँसुसम्म !

साउन ३, २०८३
काठमाडौं
मैदान बाहिरका यी रोचक किस्सा- भिसा नपाउनेलाई टीभी उपहारदेखि प्रशिक्षकको आँसुसम्म !

ओलम्पिक सरह नै प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकपले सारा संसारलाई एउटा कुरा सम्झाइरहन्छ, हामीलाई विभाजन गर्ने कुराभन्दा जोड्ने कुराहरू धेरै छन् ।

उत्तर अमेरिकी राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा जारी सन् २०२६ को फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा वृहत् प्रतियोगिता हो, जहाँ ४८ राष्ट्रले प्रतिस्पर्धा गरे ।

फुटबल विश्वकप भन्नासाथ हामी सबैको ध्यान मैदानको ९० मिनेटको खेल, गोल र खेलाडीको कौशलमा केन्द्रित हुन्छ ।

लियोनल मेसीले अल्जेरियाविरुद्ध गरेको ह्याट्रिक होस् वा मैदानभित्रका अन्य उत्कृष्ट खेल कौशल । यी सबैभन्दा माथि रहेका केही यस्ता क्षणहरू हुन् जसले फुटबल प्रेमीहरूको मन जितेको छ ।

सन् २०२६ को फिफा विश्वकप केवल गोल र जित–हारमा मात्र सीमित रहेन । विश्वकपको यो विशाल मञ्चमा मैदान बाहिर केही विवाद र रमाइला घटना पनि भएका छन् ।

मैदानमा ठूला भिडन्तबीच यस्ता केही रोचक र अनौठा घटना पनि भए, जसले दर्शकको मुहारमा हाँसो ल्याउन र कतिपय अवस्थामा त अचम्मित हुन पनि बाध्य पारे ।

यी घटनाले हामीलाई देखाउँछ विश्वकपजस्तो विशाल मञ्चमा खेलको नतिजाभन्दा पर रहेका केही हृदयस्पर्शी दृश्यहरू पनि उत्तिकै रोचक हुन्छन् ।

जारी विश्वकपको माहोलमा ओझेलमा परेका तर, उत्तिकै चर्चा गर्नलायक केही रमाइला प्रसंगको बारेमा यहाँ उल्लेख गरिएको छ ।

००

भिसा नपाएपछि ‘नि:शुल्क टिभी’ उपहार

अर्जेन्टिनी समर्थकहरूको क्रेज विश्वभर प्रसिद्ध छ । यसपटक धेरै अर्जेन्टिनी समर्थकले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा ठूलो निराशा बेहोर्नुपर्‍यो ।

यही निराशाको फाइदा उठाउँदै अर्जेन्टिनाको एक कम्पनी ‘न्यूसन’ले अनौठो ‘स्किम’ ल्यायो ।

जसको भिसा अस्वीकृत भएको थियो, त्यस्ता एक सयजना भाग्यमानी समर्थकलाई कम्पनीले नि:शुल्क टेलिभिजन दियो ।

समर्थकहरूले घरमै बसेर मेसीको जादु हेर्न सकून् भनेर यस्तो ‘स्किम’ ल्याएको दाबी गर्‍यो । यो स्किमले अर्जेन्टिनी समर्थकलाई उत्साही पनि बनायो ।

टोमस भागेलर नामका एक २४ वर्षीय युवा भन्छन्, ‘मेसीको अन्तिम विश्वकप हेर्न नपाउनुको पीडा त छ । तर, यो उपहारले मलाई थोरै भए पनि राहत दियो ।’

००

प्रशिक्षण शिविर र ‘सर्प’को डर

विश्वकपमा यसपटक सर्पको चर्चा निकै भयो । स्विट्जरल्यान्डको टोलीले आफ्नो प्रशिक्षण स्थलमा सर्प भएको हल्ला चलाएर मजाक गर्‍यो ।

तर, जर्मनीका खेलाडीहरूका लागि भने यो मजाक थिएन । उनीहरूको प्रशिक्षण क्याम्पमा वास्तवमै विषालु सर्प भेटियो ।

कप्तान जोशुआ किमिचले भने, ‘सर्प देखियो, त्यसलाई समात्न प्राविधिकहरूलाई नै बोलाउनु पर्ने अवस्था आयो । हाम्रा लागि त्यो निकै खतरनाक क्षण थियो ।’

००

फिफा र ‘बोंग’को किचलो

टोरन्टोको एक परिवारले चलाएको एक पसलमा विश्वकप ट्रफीको आकारमा बनाइएको ‘बोंग’ अर्थात, धुम्रपान गर्ने यन्त्र राखिएको थियो ।

फिफाको आँखा त्यहाँ पुग्यो र पसल सञ्चालकलाई फिफाले पाँच पृष्ठ लामो चेतावनी पत्र पठायो । त्यसपछि पसल सञ्चालक निकै डराए ।

कानूनी झमेलाबाट बच्न ती दाजु–भाइले त्यो ट्रफीलाई तोडेर नष्ट गरे अनि, त्यसको भिडियो पनि खिचे । अहिले सामाजिक सञ्जालमा ‘आरआईपी वर्ल्डकप ट्रफी बोंग’ भन्दै त्यसको अन्त्य गरिएको छ ।

००

जब मस्कट बनेर अपराधी पक्राउ गरियो

अपराध अनुसन्धानमा विश्वकपको वातावरण प्रयोग भएको घटना पनि कम रोचक छैन । एक प्रहरी अधिकृतले एउटा घटनाको अपराधी फुटबल प्रेमी भएको थाहा पाए ।

त्यसपछि प्रहरी अधिकृतले आफ्नो टोलीलाई विश्वकप ‘मस्कट’को भेषमा खटाए । विश्वकप मस्कटको पहिरनमा रहेका प्रहरीले अपराधीलाई अंगालो हाल्दै पक्राउ गरेको भिडियो ‘भाइरल’ बनेको थियो ।

००

मैदानमा घडी नहुँदाको सास्ती

अमेरिकाको एटी एण्ड टी स्टेडियममा ठूलो स्क्रिन राखिएको थियो । तर, त्यसमा खेलको समय राखिएको थिएन । त्यसैले खेलाडीहरूले समय हेर्न नपाउने समस्या उत्पन्न भयो ।

जापान र नेदरल्यान्ड्सबीचको खेलमा खेलाडीहरूले बारम्बार एक–अर्कालाई सोधिरहेका थिए, ‘कति मिनेट बाँकी छ ?’

अन्तत: जापानी कोचले हतार–हतार ‘ह्वाइट बोर्ड’मा मिनेट लेखेर मैदानतिर देखाउनुपरेको थियो । समर्थकहरूका लागि यो वस्तवमै रमाइलो क्षण थियो ।

००

कुराकाओका प्रशिक्षकको आँसु

क्यारिबियन सागरको सानो टापु राष्ट्र कुराकाओ फिफा विश्वकपमा छनोट हुने सबैभन्दा कम जनसंख्या भएको देश हो । जर्मनीविरुद्धको खेलअघि कुराकाओका प्रमुख प्रशिक्षक डिक एडभोकाट निकै भावुक देखिएका थिए ।

विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरका प्रशिक्षक एडभोकाटको आँखा रसाउनुको कारण खेलप्रतिको प्रेम मात्र थिएन ।

बरु, छोरीको गम्भीर स्वास्थ्य अवस्थाका कारण केही समय बाहिर रहेका एडभोकाट विश्वकप टोलीमा फर्किएका थिए ।

टोलीले पहिलो गोल गर्दा उनी झनै भावुक बने । टोली समूहगत चरणबाटै बाहिरिए पनि उनले ‘जीत–हारभन्दा माथि खेलको महत्व’ साबित गरिदिए ।

००

जापानी समर्थकहरूको सफाइ

जापानी समर्थकहरूका लागि खेल सकिनु भनेको रंगशाला छाड्नु होइन । खेल सकिएपछि रंगशाला सफा गर्नु उनीहरूको संस्कृति नै हो ।

आफ्नो टोलीको हौसला बढाउन पुगेका जापानी समर्थकहरूले खेल सकिएपछि स्टेडियममा आफूहरूले गरेको फोहोर सफाइ गरेका थिए ।

आयोजक राष्ट्र र स्टेडियमप्रति सम्मान प्रकट गर्ने उनीहरूले गरेको यो कार्यले विश्वलाई नै एउटा सकारात्मक सन्देश दिएको छ ।

००

बोस्टनमा ‘टार्टन आर्मी’को रमाइलो

स्कटल्यान्डका समर्थकहरूलाई ‘टार्टन आर्मी’ भनिन्छ । समूहगत चरणका खेलमा उनीहरूले बोस्टन शहरलाई नै आफ्नो कब्जामा लिएको भान हुन्थ्यो ।

उनीहरूले त्यहाँका ऐतिहासिक स्मारकहरूमा ‘कोन’ लगाएर आफ्नो परम्परागत शैलीले रमाइलो गरेका थिए ।

बोस्टनकी मेयर मिसेल वु पनि त्यसमा सरिक भएकी थिइन् । यसले दुई सहरबीचको यो मित्रता लामो समयसम्म कायम रहने सन्देश दिएको छ ।

००

‘रेन्च ड्रेसिङ’ र ‘टेक्सास बार्बेक्यू’को स्वाद

विश्वकपका क्रममा विदेशी पर्यटकहरू अमेरिकी स्वादमा मग्न देखिए । खासगरी ‘रेन्च ड्रेसिङ’ र ‘टेक्सास बार्बेक्यू’ पर्यटकहरूका लागि नयाँ र प्रिय स्वाद बनेको छ ।

यी परिकारहरूको लोकप्रियता यति बढेको छ कि डालासको ‘टेरी ब्ल्याक बार्बेक्यू’ले त केही दिनमै करोडौंको व्यापार गरेको छ । पर्यटकहरू रेन्च ड्रेसिङको बोतल घर लैजान पनि लालायित छन् ।

००

आमा र छोराको पुनर्मिलन

केप भर्डेका गोलरक्षक ‘भोजिन्हा’ले स्पेनविरुद्धको खेलपछि आफूलाई निकै खल्लो महसुस भएको बताएका थिए । उनले भिसा समस्याका कारण आफ्नी आमाले खेल हेर्न नपाएको गुनासो पनि गरेका थिए ।

तर, केप भर्डे फुटबल महासंघ, अमेरिकी विदेश मन्त्रालय र फिफाको पहलमा अर्को खेलमा आमा एना क्यान्डिडा इभोरालाई रंगशालामा ल्याइएको थियो । आमालाई आफ्नै अगाडि देख्दा भोजिन्हाको खुसीको सीमा रहेन ।

००

इरानको सन्देश: ‘शान्ति र मित्रता’

अमेरिका र इरानबीचको राजनीतिक तनावका बाबजुद इरानी टोलीले लस एन्जलसको ड्रेसिङ रूममा एउटा हस्तलिखित पत्र छाड्यो ।

त्यो पत्रमा लेखिएको थियो, ‘लस एन्जलस, तपाईंको आतिथ्यका लागि धन्यवाद । सबै राष्ट्रहरूबीच शान्ति, सम्मान र मित्रता कायम रहोस् ।’ 

यो सन्देशले खेलकुद राजनीतिभन्दा माथि रहेको पुष्टि गर्‍यो ।

००

अल्जेरियालाई कान्सासको स्वागत

कलेजहरूको शहर भनेर चिनिने ‘कान्सास’ले अफ्रिकी टोली अल्जेरियालाई जसरी स्वागत गर्‍यो, त्यो लोभलाग्दो थियो ।

त्यहाँका स्थानीय बासिन्दाले अल्जेरियन खेलाडीहरूलाई आफ्नो घरकै सदस्यझैँ व्यवहार गरे । प्रतियोगिता सकिँदासम्म पनि उनीहरूबीच परिवारकै सदस्यजस्तो सम्बन्ध कायम रह्यो ।

००

नर्वेको ‘भाइकिङ रो’

नर्वेका समर्थकहरूको ‘सिंक्रोनाइज्ड भाइकिङ रो’ अहिले सामाजिक सञ्जालमा भाइरल छ । समर्थकहरूले मिलेर डुंगा चलाएको अभिनय गरेर नर्वेजियन भाषामा ‘रो’ भन्दै चिच्याउँदाको ऊर्जाले खेलाडीहरूमा छुट्टै जोस भरिरहेको थियो ।

यो ‘भाइकिङ रो’को जादु नै हुनुपर्छ, नर्वेको टोली विश्वकपको इतिहासमै पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्