
चीनले सोमबार अमेरिकालाई चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम नगर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूले उन्नत अमेरिकी एआई मोडेलहरूको कथित ‘प्रयोग’ गरेको विषयमा अनुसन्धान गर्न आह्वान गरेको तथा ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आरोपका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने सम्बन्धी समाचारप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
चीनले विज्ञान–प्रविधि, आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण तथा उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको र आधारहीन बहानामा चिनियाँ कम्पनीहरूलाई बदनाम तथा प्रतिबन्ध लगाउने कार्य भइरहेको जनाएको छ।
“सम्बन्धित चिनियाँ कम्पनीहरूले विकास गरेका एआई मोडेल सार्वजनिक भएको समय अमेरिकी मोडेलसँग धेरै नजिक छ र केही चिनियाँ मोडेलले क्षमता तथा कार्यसम्पादनमा अग्रणी स्तर हासिल गरिसकेका छन् भन्ने तथ्यलाई अमेरिकाले बेवास्ता गरेको छ,” प्रवक्ताले भने। उनले नवप्रवर्तन कुनै एक पक्षको एकाधिकार नभएको पनि बताए।
प्रवक्ताले भने, “चिनियाँ एआई कम्पनीहरू लामो समयदेखि आधारभूत अनुसन्धानमा संलग्न छन्। उनीहरूले वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता, खुलापन र सहकार्यलाई समान महत्त्व दिँदै व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तअनुसार एआई प्रविधिको तीव्र विकासलाई अघि बढाएका छन्। ‘फ्रन्ट–इन्ड कोडिङ’ क्षमतासहित विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका छन्।”
उनले धेरै अमेरिकी एआई कम्पनीले पनि अनुसन्धान, विकास र प्रशिक्षणका क्रममा चिनियाँ मोडेल प्रयोग गरेको दाबी गरे।
प्रवक्ताले दुई देशका शीर्ष नेताबीच भएको सहमतिअनुसार अमेरिकाले एआई क्षेत्रमा संवाद र सञ्चारलाई सुदृढ बनाउन, विश्वको हितका लागि एआई प्रवर्द्धन गर्न तथा दुई ठूला अर्थतन्त्रसहित विश्व समुदायको हितमा एआई सुशासनलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए।