
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आफ्नो पछिल्लो शृंखलामा बिहीबार नेपालले आयोजक नेदरल्यान्ड्सको सामना गर्दैछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार, दिउँसो १४:४५ बजे शुरू हुनेछ । आफ्नो पछिल्लो शृंखलामा निराशाजनक शुरूआत गरेको नेपाली टोलीले दोस्रो खेल खेल्न लागेको हो ।
यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग आठ विकेटले पराजित भएको थियो । यो शृंखला निकै महत्त्वपूर्ण रहे पनि नेपालले नामिबियाविरुद्ध ब्याटिङमा निकै कमजोर प्रदर्शन गरेको थियो ।
टोली ४६.५ ओभरमा केवल एक सय ५७ रन बनाउँदै अलआउट हुन पुग्यो । नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए ।
दोस्रो बलमै केवल दुई रन बनाउँदै ओपनर कुशल भुर्तेल पेभेलियन फर्किएसँगै शुरू भएको विकेट पतनको क्रम अन्तिम समयसम्मै रोकिएन ।
पाँच ब्याट्सम्यानले त दोहोरो संख्यामा समेत रन बनाउन सकेनन् । नेपाली ब्याट्सम्यानको ब्याट्बाट केवल एक सय ४२ रन निस्कियो भने १५ रन अतिरिक्त रूपमा प्राप्त भएको थियो ।
विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १६ रनमै पेभेलियन फर्किए भने इशान पाण्डे पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।
कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ३० रन जोड्दै पेभेलियन फर्किएका थिए । आरिफ शेखले त खातासम्म खोल्न सकेनन् ।
गुलसन झा २०, सोमपाल कामी १५ र करण केसी १८ रनमै आउट भए । नन्दन यादवले एक रन बनाए भने सन्दीप लामिछाने एक रनमा अविजित रहेका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले ३७.२ ओभरमै केवल दुई विकेट गुमाएर सजिलै विजयलक्ष्य पूरा गरेका थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर ब्याटिङ नेपालको पुरानै समस्या हो । त्यसैले बिहीबार हुने आयोजक राष्ट्रविरुद्धको खेलमा नेपालले ब्याटिङमा आमुल परिवर्तन गर्नुको विकल्प छैन ।
उसै पनि नेपालका लागि नेदरल्यान्ड्स निकै बलियो प्रतिद्वन्द्वी हो । जारी लिग–२ प्रतियोगितामा पनि नेदरल्यान्ड्सले अब्बल प्रदर्शन गर्दै आएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म सात खेल खेलिएको छ । यो तथ्यांकले नेपाललाई केही बलियो देखाउँछ ।
हालसम्म चार खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । बाँकी तीन खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ ।
पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच सन् २०२५ को जुनमा दुई एकदिवसीय खेल भएको थियो । स्कटल्यान्डमा खेलिएको ती दुवै खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले नेदरल्यान्ड्सलाई जुन ४ तारिखमा खेलिएको पहिलो खेलमा पाँच विकेटले र जुन १० तारिखमा खेलिएको दोस्रो खेलमा १६ रनले हराएको थियो ।
हाल टोलीमा रहेका अधिकांश खेलाडी त्यतिबेला पनि टोलीमा थिए । त्यतिबेला नेदरल्यान्ड्सविरुद्ध आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
आरिफले पहिलो खेलमा ७८ र दोस्रो खेलमा ८४ रन बनाएका थिए । ती दुवै खेल लिग–२ शृंखलाकै क्रममा खेलिएको थियो ।
ती दुवै खेलमा बलरहरूको अब्बल प्रदर्शनकै कारण नेपालको जित सम्भव भएको थियो । दुवै खेलमा गरेर सन्दीप लामिछानेले पाँच र ललित राजवंशीले चार विकेट लिएका थिए । करण केसी, नन्दन यादव र सोमपाल कामीले पनि तीन–तीन विकेट हात पारेका थिए ।
लिग–२ शृंखलाको घरेलु मैदानमा आयोजित अघिल्ला शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थानको दौडलाई बलियो बनाएको नेपाली टोलीको आशा अब यही शृंखलामा टिकेको छ ।
यो शृंखलापछि लिग–२ प्रतियोगितामा नेपालको एउटा शृंखलामात्र बाँकी रहने छ । आगामी अक्टोबरमा हुने उक्त शृंखलामा नेपालले आयोजक ओमान र क्यानडाको सामना गर्नु पर्नेछ ।
त्यसैले जारी शृंखलाबाट बढीभन्दा बढी अंक बटुल्न सके नेपाली टोलीले तालिकामा आफ्नो अवस्थालाई बलियो बनाउन सक्नेछ ।
नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपाली टोलीले तेस्रो खेल जुलाई २७ तारिख (साउन ११ गते) नामिबियासँग र चौथो खेल जुलाई २९ तारिख (साउन १३ गते) नेदरल्यान्ड्ससँग खेल्नेछ ।
जारी लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।
यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।
त्यसैल सहभागी टोलीका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ ।
तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपाली टोलीले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन । जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् ।
तालिकामा नेपाल अप्ठ्यारो स्थितिमै छ । हालसम्म ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । अमेरिकाले विश्वकपको छनोटमा स्थान पनि पक्का गरिसकेको छ ।
समान खेल खेलेको स्कटल्यान्ड ३८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
समान खेलबाट ३१ अंक बटुलेको ओमान तालिकाको चौथो स्थानमा आसिन छ । नेपाल भने २९ खेलबाट २४ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपालले केवल ११ खेलमा जित र १६ खेलमा हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ ।
२९ खेलबाट २४ अंक जोडेको नामिबिया छैटौं, २८ खेलबाटै २४ अंक बटुलेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक हात पारेको यूएई आठौं स्थानमा छन् ।
नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), विनोद भण्डारी र कुशल भुर्तेल रहेका छन् ।
यसैगरी, गुलसन झा, सोमपाल कामी, करण केसी, अर्जुन कुमाल, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, आसिफ शेख र नन्दन यादव पनि टोलीमा छन् ।