
अज्ञात व्यक्तिहरूले काठमाडौंका केही मिडिया हाउस अगाडि गाडी पार्किङ गरेर आउ-जाउमा अवरोध गरेपछि प्रहरीले क्रेनमार्फत् गाडी हटाउन शुरू गरेको छ ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटअगाडि गाडी पार्किङ गरेर बाटो अवरोध पुर्याएपछि प्रहरीसमक्ष सूचना पुगेको थियो।
सडक अवरोध पुर्याएर राखिएका तीन वटै गाडी निजी नम्बर प्लेटका छन् । गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले यसबारे जानकारी पाएपछि प्रहरी पठाइसकेको बताए । क्रेन पठाएर गाडी तानेर ल्याउने काम भइरहेको उनले बताए ।
भट्टराईले भने,‘गाडी क्रेनले तानेर ल्याइरहेका छौँ, कसले र कुन उद्देश्यले गाडी त्यहाँ पार्किङ गरेर गयो त्यसबारे पनि अनुसन्धान गछौँ।'
यसैबीच, नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले विज्ञप्तिमा बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको पाइएको उल्लेख छ ।
महासंघले तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको पनि उल्लेख गरिएको छ।
