
काठमाडौं – सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्ने नेपाली कांग्रेसको मागको सम्बन्धमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा रुलिङ गर्दै सभामुख महराले यस विषयमा सदनमा छलफल हुन नसक्ने प्रस्ट पार्नुभएको हो ।
‘केही दिनदेखि माननीय सदस्यहरूले एउटा विषय उठाउनुभएको छ, सभामुख र उपसभामुखको विषयमा । आज पनि एकजना माननीयले उठाउनुभयो । माननीय सदस्यहरूले सदनमा उठाउनुभएको विषय अदालतमा विचाराधीन रहेकोले नेपालको संविधानको धारा १०५ मा रहेको व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधीन रहेको मुद्दामा, न्याय निरूपणमा प्रतिकुल असर पर्ने भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्योहोरा जानकारी गराउँछु,’ सभामुख महराले भन्नुभयो ।
यसअघि नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकले राजीनामा गर्नुपर्ने विषय सदनमा उठाउँदै आएको छ । आइतवार पनि कांग्रेस सांसद लक्ष्मी परियारले यो विषय उठाएकी थिइन् । शुक्रवारको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले यो विषय उठाएका थिए । सदनमा दैनिकजसो आवाज उठ्न थालेपछि आइतवार महराले रुलिङ गर्नुभएको हो ।
जवाफ दिन सरकारलाई निर्देशन
महराले आइतवार संसदको शून्य र विशेष समयमा उठेका विषयमा सदनलाई जवाफ दिन सरकरारको ध्यानाकर्षण गराउनुभएको छ । कञ्चनपुरमा निर्मला पन्तमाथि हत्या गरेको विषयमा सदनमा उठेका प्रश्नबारे सदनलाई जानकारी गराउन सभामुख महराले सरकारलाई विशेष ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा त्यसअघि सांसदहरूले बलात्कारमा संलग्नलाई तत्काल कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।