
काठमाडौं– स्थानीय तहले गरेको स्वैच्छाचारी करवृद्धिको निर्णयप्रति सांसदहरूले कडा विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकको शून्य समयमा सांसहरूले सरकारको कर आतंकले सर्वसाधरण त्रसित बनेको भन्दै विरोध गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सरकारले सक्यो भने भुस्याहा कुकुरको मालिक पत्ता लगाएर समेत कर असुल्थ्यो भन्दै आफूलाई व्यंग्य गरिएको प्रसंग सुनाए ।
उनले भने – 'म आज बिहान सामान्य चिया पसलमा थिएँ । मलाई सांसद भन्ने थाहा पाएर केही युवाले व्यंग्य गरे – यो सरकारले सक्यो भने भुस्याहा कुकुरको पनि मालिक पत्ता लगाएर कर असुल्थ्यो होला ! म त्यहाँबाट निस्कनै गाह्रो भयो ।’
सत्तारुढ नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले पनि स्वैछाचारी करवृद्धिको निर्णय सच्याउन सरकारसँग माग गरिन् ।
ʻस्थानीय सरकारले लगाएको करप्रति जनताका असन्तुष्टि र मर्काबारे सोचियोयस् । हाम्रो आर्थिक सामाजिक अवस्था सोचेर विवेकपूर्ण तरिकाले कर लगाइयोस्,ʼ उनले भनिन् ।
कांग्रेस सांसद पार्वती डीसी चौधरीले कम्युनिस्ट सरकारले कर थोपरेर जनतालाई मर्कामा पारेको आरोप लगाइन् । ʻअस्वभाविक करवृद्धिले कम्युनिस्ट सरकार कतै संघीयता असफल बनाउन उद्यत त छैन ? भन्ने प्रश्न उठेको छ,ʼ सांसद चौधरीले भनिन् ।
कांग्रेसकै प्रमिला राईले जनताले घरखर्चका लागि पालेका पशुपालनमा समेत कर असुली गर्ने सरकारको निर्णयको विरोध गरिन् ।
ʻसुखी नेपाली समृद्ध नेपाल’ भन्ने सरकारी नारा छ, तर सरकारको कामले सुखी त होइन, खुसी पनि हुने अनस्था छैन । कर आतंकबाट जनता आक्रोशित छन् ।ʼ